तलबभत्ता वृद्धि गर्न माग गर्दै शिक्षक आन्दोलित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । जनकपुरधाम उपमहानगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका छन् ।

बाल विकास शिक्षक तथा कर्मचारीहरुले जनकपुरधामको जनक चोकबाट निकालेको –याली नगर परिक्रमा गर्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेको थियो । शिक्षकका प्रतिनिधिले उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्ब’न्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि जनकपुरधाम उप महानगरले लागू नगरेको भन्दै आन्दोलन परिचालन समितिका अध्यक्ष रामहृदय यादवले लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।

बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने गरी मासिक ६ हजार रुपैयाँ तलबमा चित्त बुझाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने माग उनीहरुले अघि सारेका छन् । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ४९ वटा सामुदायिक विद्यालयमा करिब २ सय बाल विकास शिक्षक कार्यरत छन् ।

सोकार्यक्रम सरकारले आर्थिक वर्ष ०५३÷०५४ मा ल्याएको थियो । यस अवधारणा अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्षसम्मका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्नुका साथै शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका बालबालिकालाई रेखदेख गर्ने र पाँच वर्षपछि स्कुल जान मानसिक रूपमा तयार पार्ने कामका लागि बाल विकास शिक्षकको अवधारणा आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्