कतारले प्रहरीमा तत्काल नेपालीलाई भर्ना नलिने

काठमाडौं । कतार सरकारले तत्काल नेपालीलाई प्रहरीमा भर्ना नलिने भएको छ । कतार सरकारले दोहास्थित नेपाली दूता वासलाई तत्कालको लागि भर्ना नलिइने जानकारी दिएको हो । कतारको यस्तो निर्णयपछि भर्ना हुन छनौट भएका दुई सय जना नेपाली जान नपाउने भएका छन् ।

दोहा नियोगका राजदूत नारदनाथ भारद्धाजले लामो समयसम्म नेपालले कुनैपनि जानकारी नदिएकाले कतारले अन्यत्रबाट आवश्यकता पूर्ति गर्ने जवाफ आफूले पाएको जनाए । म्यानपावर कम्पनी वा सरकारी च्यानल कुनमार्फत भर्ना छनौट गर्ने विषयमा विवाद भएको थियो । मागपत्र प्रमाणीकरण नभइकन म्यानपावर कम्पनीले अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो ।

कतारले गत मंसिरबाटै प्रहरी सेवामा भर्ना गर्न खोजेको थियो। म्यानपावर कम्पनी वा सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्नेमा विवाद भएपछि यो प्रक्रिया अगाडि बढेको थिएन, गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई म्यानपावर कम्पनीले अन्तर्वार्ता राखे पछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो । त्यसबेला अन्तर्वार्ता लिनका लागि कतारका उच्च अधिकारीहरू काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्