चाडबाड नजिकिँदै गर्दा नक्कली नोटको बिगबिगी

काठमाडौं : वीरेन्द्रनगरको भैरवस्थान नजिकै रहेको चन्द्रमान चोककी दिलमाया सोडारी बुधबार बेलुका ९ बजेसम्म पसल मै थिइन् । बेलुकी पख तरकारी, फलफूल र मासु किन्न आउनेहरु नरोकिएपछि उनी अबेरसम्म उनी पसलमै थिइन् ।झण्डै ८ बजेको समयमा एउटा मोटरसाइकलमा दुईजना आए । पसलभन्दा अलि पर मोटरसाइकल राखेर उनीहरु दिलमायाको पसलमा आएर फलफूल, तरकारी लगायतका सामग्री अर्डर गरे ।

दिलमायाले पनि ती सामग्री पोलथिनमा प्याक गरेर दिइन् । उनीहरुले दिलमायालाई एक हजारको नयाँ नोट दिए । अलि अँध्यारो समय थियो । सामग्रीको मूल्य कटाएर बाँकी रकम उनले फिर्ता गरिन् । ती दुई जना पैसा लिनासाथ हतार–हतार गरेर मोटर साइकल चढेर हुँइकिए । दिलमायाले त्यो बेला नोटको बारेमा त्यति वास्ता गरिनन् । अँध्यारो समय भएकाले पैसा राखिहालिन् । त्यसपछि उनको पसलमा हजार बराबरको नोट दिएर सामान किन्ने व्यक्ति अन्य कोही आएनन् ।

सोही नोटसहित पाँच हजार रकम बोकेर बिहीबार बिहान उनी मण्डी पुगिन् । उनले पाँच हजार बराबरको तरकारी बस्तु खरिद गरिन् र साहुलाई रकम दिइन्। मण्डी साहुले पैसा गन्दा एउटा नोट नक्कली भेटियो । ‘नक्कली नोट दिएर हामीलाई ठग्न खोजेको ?’ भन्दै साहुजी कड्किएपछि उनी छक्क परिन् । वीरेन्द्रनगर–१ बाँङ्गेसिलका दीलिप शाही केही दिन अघि बजारमा सपिङ गर्न गए । बजारबाट केही सामान खरिद गरी उनी बेलुका घर फर्किए ।

घर गएर उनले आफूसँग भएको रकम गन्दा एक हजारको नक्कली नोट भेटियो । उनले त्यो नोट कोमार्फत आफूसँग आयो भन्ने पत्तो पाएनन्। उनीहरु दुईजना प्रतिनिधिपात्र मात्रै हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हिजो–आज नक्कली नोटको बिगबिगी नै छ । दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा कारोबारीहरुले नक्कदी नोट बजारमा ल्याएको हुन सक्ने व्यापारीहरुको अनुमान छ ।

कतिपयले एक बैंकबाट लिएको गड्डीलाई अर्को बैंकमा जम्मा गर्दा यस्तो फेला परेको गुनासो पनि गरिरहेका छन्। दिलीप र दिलमायाले रातोपाटीलाई उपलब्ध गराएको नोटलाई उज्यालो प्रकाशमा हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्य मबाट चेक गर्दा नोटमा लालीगुराँसको आकृति देखिँदैन । सक्कली नोटमा भने लालीगुराँसको चित्र देख्न सकिन्छ । यता, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । रातोपाटीवाट साभार

प्रतिक्रिया दिनुहोस्