चरम आर्थिक संकटले गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

चितवन:सब कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए चितवनको भरतपुर–१५ मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसक्नुपर्ने हो। निर्माणको स्वतःस्फूर्त अगुवाइ गरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि गरिसक्ने सम्झौता गरेको थियो ।

तर, बिडम्वना अहिलेसम्म रंगशालामा ३५ प्रतिशत काम मात्रै भएको छ । खर्चको हिसाब हेर्ने हो भने करिब ३ अर्ब लाग्ने भनिएको रंग शालामा अहिलेसम्म करिब साढे ५४ करोड खर्च गरिएको छ । मुख्य निर्माणको काम भएको छैन । साउन १५ यता निर्माणको काम रोकिएको छ । द्रुत गतिमा काम भइरहनुपर्ने रंगशाला निर्माणस्थल शान्त छ । स्वतःस्फूर्त उठाइने सहयोग रकम पनि अहिले बन्द गरिएको छ ।

रंगशाला निर्माण परियोजना गम्भीर आर्थिक संकटमा फसेको छ । परियोजनाले अहिलेसम्म गरेको ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च मध्ये करिब १६ करोड २ लाख त बक्यौता नै छ । अहिलेसम्म अनेक अभियान चलाएर उठेको रकम ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ मात्रै भएको रंगशाला निर्माण परियोजनाका आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले जानकारी दिए । “अहिले हामीसँग नगद मौज्दात कत्ति पनि छैन”, उनले भने, “काम सबै रोकिएका छन् ।”

फाउण्डेसनले आर्थिक स्रोत जुटाउने गरी चितवनको भरतपुर–१५ मा भरतपुर महानगर पालिकाले उपलब्ध गराएको जग्गामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ । फाउण्डेसन र महानगरपालिका बीच २०७५ माघ १६ गते शहीद दिवस अवसर पारेर सम्झौता गरिएको थियो । त्यसमा फाउण्डेसनले काम सुरु गरेको २ वर्षभित्र रंगशाला पूर्णरूपमा निर्माण गरेर हस्तान्तरण गर्ने भनिएको छ ।

बनाइसक्दासम्म आवश्यक रकम उठाउने दायित्व फाउण्डेसनकै हुने भनिएको छ । समय नै हेर्ने हो भने सम्झौता गरेको मितिले यसपालि माघ १६ मा तीन वर्ष अवधि पुग्छ । तर, सुरुआतमा स्थानीयस्तरमा देखिएको विवाद र पछिल्लो समय झण्डै डेढ वर्षदेखिको को’भिड महामारीका कारण काममा अनेक बाधा आइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशालाको काम ढिला भएकोमा असन्तुष्टि जनाएकी छन् ।

आइतबार भरतपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले विविध कारणले भएको ढिलाइले गर्दा भनिएको समयमा यसको काम नसकिएको बताइन् । “महानगर र धुर्मुस–सुन्तली फाउण्डेसनबीच भएको सम्झौतामा २ वर्ष भित्र रंगशाला निर्माण सक्ने भनिएको छ”, भरतपुर फुटबल क्लबले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा उनले भनिन्, “कोभिडका कारण पनि ढिलाइ भयो, अरू विविध कारणले पनि समयमै काम भएको छैन ।”

मेयर दाहालले बाधा आउनुको मुख्य कारण आर्थिक स्रोत नै रहेको बताइन् । “सम्झौतामा स्पष्ट भनिएको छ, आर्थिक स्रोत खोज्ने दायित्व भरतपुर महानगर पालिकाको होइन”, उनले भनिन्, “सबै पैसा धुर्मुस–सुन्तली फाउण्डेसनले नै खोज्नु पर्ने हो तर चाहिने जति पैसा उठेको छैन ।” उनले फाउण्डेसनले अब छिट्टै एउटा निर्णय गरिहाल्नु पर्ने बताइन् । “सक्नुहुन्छ भने तपाईंहरूनै रकम उठाउनुस्”, उनले फाउण्डेसनलाई भनिन्, “होइन भने ज्यादा प्रेसर लिएर ऋण बोकेर नबस्नुस्, सरकारलाई दिनोस् बाँकी काम सरकारले नै गर्छ ।”

चरम आर्थिक संकट परेको कुरा फाउण्डेसन स्वीकार्छ । तर, अहिले नै ‘हामी सक्दैनौँ’ भनेर हात उठाउने अवस्थामा नपुगेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँ छन् । “सबैको साथ र सहयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने मैदानसम्म बनाउन सक्यौँ”, कायाकैरनसँगको टेलिफोन संवादमा कट्टेलले भने, “अझै पनि सबै एकजुट भएर लाग्ने हो भने पूरा गर्न सकिन्छ ।” कट्टेलको प्रमुख टाउको दुखाइ बक्यौता नै बनेको छ । “१६ करोडभन्दा बढी आर्थिक दायित्व लिएर काम अघि बढाउन सकिएन”, उनले भने, “कतिलाई फकाइयो, कतिलाई ढाँटियो भनिसाध्यै छैन ।” अब यो दायित्वको भुक्तानी कसरी गर्ने भन्ने विषय गम्भीर भएको उनले बताए ।

आर्थिक स्रोत खोज्दै सरकारसामू : फाउण्डेसनले अहिले आर्थिक सहयोग नै लिन छोडेको छ। सुरुआतमा जुन गतिमा सहयोग जुटेको थियो, अहिले त्यो छैन । आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको कट्टेलले बताए । “आखिरीमा सरकारकै सम्पत्ति हो, हामी त बनाइदिने खेताला न हौँ”, उनले भने, “अब सरकारले आफ्नो योजनामा पार्नुपर्छ, स्रोत सुनिश्चित गर्नुपर्छ ।”

व्यक्तिगत तथा संस्थागत रूपमा स्वतः स्फूर्त दिइएका सहयोग र धनधान्याचल महायज्ञबाट उठाइएको रकमले अहिले सम्म काम गर्न सजिलो भएको थियो । त्यही गतिमा सहयोग आइरहने आशामा उधारोमा काम गरिएको थियो । तर, बिस्तारै सहयोग घट्दै गयो । “बीचमा कोभिड महामारी आएपछि सबैको आर्थिक अवस्था चौपट भयो”, कट्टेलले भने, “अब जनतासँग हात थाप्ने अवस्था पनि भएन ।”

भरतपुर महानगर प्रमुख दाहाल अहिलेसम्म महानगरलाई आर्थिक दायित्व नभए पनि आर्थिक स्रोत जुटाइदिएको बताउँछिन्। “१० करोड त महानगरकै स्रोतबाट दिइसकेका छौँ”,उनले भनिन्, “त्यस्तै महानगरकै अग्रसरतामा गरिएको धनधान्याचल महायज्ञबाट करिब १५ करोड संकलन गरिदियौँ । यसरी हिसाब गर्दा महानगरकै पहलमा २५/२७ करोड उठिसकेको छ ।” मेयरले धान्याचल गरेर महानगरले नै पैसा उठाइदिएको बताए पनि उक्त अवसरमा बोलेका अधिकांशले पैसा दिएका छैनन् ।

कैयौँ सरकारी तहबाटै बोलिएको पैसा पनि उठेको छैन । ६९ करोड बोलिएकामध्ये २० प्रतिशत रकम मात्रै उठेका छन्। “सुरुमा धेरैले बोल्नुभयो”, फाउण्डेसनका अध्यक्ष कट्टेल भन्छन्, “कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ।” कट्टेलको अनुरोध छ, “रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गरिदिनुपर्‍यो ।”

जनस्तरबाटै भएको सहयोगले सामाजिक काम गर्दै आएको धुर्मुस सुन्तली फाउण्डेसनले कम्ती प्रयास गरेकोचाहिँ होइन । देश दौडाहामा हिँड्नेदेखि रंगशाला घुम्न आएकाहरूसँग विभिन्न उपाय लगाएर उठाउनेसम्म, चलचित्रबाट भएको आम्दानी मिसाउनेदेखि महायज्ञ सम्म गरिएकै हो । “हामीले सकेसम्म नगरेका होइनौँ”, कट्टेलले भने, “तर, विभिन्न प्रतिकूलताले घेरिँदै आउनुपर्‍यो।” –विनोदबाबु रिजालले लेखेको यो समाचार कायाकैरन डटकमबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्