नेपालमा कोरोनाबाट आत्तिहाल्नु पर्ने स्थिति छैन’

काठमाडौं : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताउनु भएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले भाइरसको सङ्क्रमण द्रुतगतिमा हुने भएकाले सबैले सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री घिमिरेले साबुन पानीले हात मिचि मिची धुन सुझाव दिँदै अब कसैसँग हात नमिलाउन र नमस्कार गर्न भन्दै भीडभाड, सार्वजनिक स्थल तथा विदेशबाट फर्केका मानिसबाट सावधान हुनुपर्नेमा जोड दिनु भयो । उहाँले प्रदेश नं १ मा कसैलाई पनि यो भाइरस नभेटिए भए पनि यसबाट बच्न यथोचित प्रबन्ध मिलाएको र प्रदेश नं १ का चार नाका इलामको पशुपतिनगर, झापाको काँकडभिट्ट, भद्रपुर र विराटनगरको रानीमा हेल्थ डेस्क राखेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशका छ वटा अस्पतालमा आइसोलेशन वार्ड बनाईएको जानकारी दिँदै नदीनालाको फोहर, अस्पतालको फोहरको उचित व्यवस्थापनमा विशेष ध्यान दिएको चर्चा गर्नुभयो । मन्त्री घिमिरेले ‘प्रदेश नं १ को जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि बहुमतले पारित भएको छ ।

प्रदेशसभाको बैठकमा विशेष समयमा नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कोरोना भाइरसका विषय लिएर विश्व त्राहीमाम भइरहेको बेलामा प्रदेशमा कस्तो तयारी भइरहेको छ प्रश्न गर्नुभयो । उहाँले सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ को राजधानी सिङ्घीया नदीको मात्र फोहर सफा गरेर प्रदेशभरिका फोहर सफा नहुने भएकाले यसतर्फ पनि प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्