भुटानी अभिनेत्रीको इन्ट्री, दयाहाङसँग रोमान्स गर्दै

काठमाडौं : निर्देशक दीपेन्द्र लामाको ‘२ नम्बरी’ फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेन आवद्ध भएकी छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक दीपेन्द्र लामाले भुटानी अभिनेत्री उगेन छोदेन ‘२ नम्बरी’ फिल्ममा आ’वद्ध भएको जानकारी गराएका थिए। ‘भुटानी अभिनेत्री उगेन छोदेन २ नम्बरी फिल्ममा आवद्ध भएकी छन्।

फिल्मको कथा अनुसारको उनको भूमिका सुहाउने भएकाले आवद्ध गरेका हौं,’ निर्देशक लामाले भने, ‘तीन वर्षअघि राजधानीमा आयोजित मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको दौरान उनीसँग परिचय भएको थियो।’ विभिन्न भुटानी फिल्ममा अभिनय गरि सकेकी अभिनेत्री छोदेनले ‘२ नम्बरी’ फिल्ममा अभिनेता दयाहाङ राईसँग सहकार्य गर्नेछिन्। ‘नेपाली फिल्ममा पहिलो पटक काम गर्दैछु।

नेपाली फिल्ममा आवद्ध भएर काम गर्नु पाउँदा म उत्साहित छु। यस फिल्मबाट नयाँ कुरा सिक्न पाइनेमा आशावादी छु,’ उनले भनिन्, ‘यस फिल्मको कामले मेरो नेपाली फिल्मको यात्रा तय गर्नेछ। भुटानमा बलिउड र नेपाली फिल्म हेरिन्छ।’ अभिनेता दयाहाङ राईले भुटानी अभिनेत्रीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका थिए। ‘नेपाल र भुटानका कलाकार एकसाथ काम गर्दैछौं।

यसले दुई देशको मैत्री सम्बन्धलाई समेत टेवा पुग्नेछ,’ उनले भने।’ ‘२ नम्बरी’ फिल्ममा भुटानी अभि नेत्री उगेन छोदेन, दयाहाङ राई, वर्षा राउत, पल शाह र बुद्धि तामाङ लगायत कलाकारहरूले अभिनय गर्दैछन्। ‘घामपानी’, ‘गोपी’ र ‘६ माया छपक्कै’ फिल्म निर्देशनको अनुभव बटुलिसकेका निर्देशक लामाको ‘२ नम्बरी’ फिल्म दुई साथीको कथामा आधारित रहेको छ।

रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई सुसन प्रजापतिले खिच्दैछन्। किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन्। यसअघि फिल्मलाई आगामी जनैपूर्णिमाको अवसर पारेर रिलिज गरिने जानकारी फिल्म युनिटले दिएको थियो।

प्रतिक्रिया दिनुहोस्