कुनै समय कठै भन्ने साथीहरू अहिले ‘वेल डन् (राम्रो गर्‍यौ) समरा भन्छन !’

काठमाडौं : जीवनमै पहिलो पटक एक महिना भन्दा बढी घरबाट टाढा हुँदा समरा जोशीले सब भन्दा बढी छोरालाई ‘मिस’ गरिन्। २०७३, पुस १ गते छोराको १० औं जन्मदिन थियो । छोराको जन्मदिनमा पहिलो पटक टाढा हुँदा उनलाई केही बिराएझैं ग्लानी भइरह्यो। ‘भैरे’ सिनेमा छायांकनका लागि मेकअप आर्टिस्टका रूपमा उनी माथिल्लो मुस्ताङ पुगेकी थिइन्।

छोराको जन्मदिनमा मात्रै होइन, छायांकन अवधिभर ‘छोराले के सोच्यो होला? कतै मसँग रिसायो कि?’ भनेर घरीघरी पिरोलिएकी थिइन्। चार वर्षअघि म्युजिक भिडिओबाट कामसुरू गरेकी समरा यसअघि एक-दुई दिनभन्दा बढी बाहिर बस्नु परेको थिएन। फिल्म क्षेत्रको अनुभव पहिलो गाँसमै ढुंगा भनेझैं भयो। निरुत्साहित भएर काठमाडौं फर्केको समय सम्झिँदै भन्छिन्, ‘अब फेरि फिल्ममा काम गर्दिनँ, म्युजिक भिडिओ नै ठीक भन्दै फर्केकी थिएँ।’

समराको त्यो सोच लामो समय भने टिकेन। त्यही विचारमा अडिएको भए सायद उनी पछुताउने थिइन् । केही अन्यौल बावजुद निरन्तरता नदिएकी भए ‘साइँली’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘गोपी’, ‘सेन्टी भाइरस’ लगायत फिल्मसँग उनको नाम र काम जोडिने थिएन। काम सिलसिलामा बाहिर हिँडि राख्दा छोरा र आमाबुवालाई समय दिन नपाउने समराको चिन्ता आज पनि उस्तै हो।

तर अचेल उनले त्यो चिन्ताको जवाफ भेटिसकेकी छन्। आमाबुवाकी एकमात्रै सन्तान समराको काँधमा छोराको भविष्य र अभिभावकको स्याहारसुसारको दोहोरो जिम्मेवारी छ। ‘परिवारको सुखका लागि मान्छे विदेश जान्छन्। मत केही हप्तामा फर्किहाल्छु भनेर मन बुझाउँछु,’ उनी भन्छिन्, ‘जे गरिरहेकी छु, सबै बच्चा र परिवारको सुखकै लागि हो।’

आमा, बुबा र छोरा। उनको परिवार भन्नु यत्ति हो। प्रेम विवाह गरेकी उनले सम्बन्ध वि’च्छेद गरेको केही वर्ष बितिसकेको छ। १६ वर्षमै बिहे गर्दा समराले भर्खरै एसएलसी सकेकी थिइन्। ०६२ सालको एसएलसीपछिका दुई वर्ष बच्चा हुर्काउनमा खर्चेकी उनी ०६४ सालमा प्लस टु भर्ना भएर पढाइलाई निरन्तरता दिइन्। डिल्लीबजार कन्या क्याम्पस पढ्ने बेला बागबजारको ‘आइटिसी’ पार्लरमा ब्युटिसियन तालिम लिएकी थिइन्।

त्यही तालिमको जगमा स्नातक पढ्दै गर्दा आफ्नै बसाइँ नजिक पर्ने गरी लाजिम्पाटमा ब्युटी पार्लर खोलिन्। आम्दानी बढाउनुपर्ने चुनौतीबाहेक नाम राख्ने केही काम गर्नुपर्छ भन्ने सोचले उनलाई सानो पार्लरमै खुम्चिएर बस्न दिएन। भन्छिन् ‘पार्लर कसरी ठूलो बनाउने र नयाँ काम कसरी सिक्ने भन्नेबारे सधैं सोचिरहन्थेँ।’ जति सोचे पनि के गर्ने, स्पष्ट थिएन। बाटो देखाइदिने पनि कोही थिएन।

यसैबीच लाजिम्पाटमा पार्लर चलाइरहेका चन्द्र गुरुङसँग उनले मेकअप कक्षा लिने अवसर पाइन्। चन्द्रकहाँ विज्ञापन र भिडिओमा काम गर्ने कलाकार आइरहन्थे। चन्द्र नै समरालाई पार्लर बाहिरका सम्पर्क जोड्ने माध्यम बने। स-साना विज्ञापन हुँदै उनलाई म्युजिक भिडिओका लागि मेकअप गर्ने प्रस्ताव आउन थाल्यो। सानैदेखि नाच्न र फिल्म हेर्न मनपराउने समरामा यो क्षेत्रप्रति आकर्षण त थियो, तर ध्यान कलाकारको फेसन र शृंगारभन्दा अभिनय र नृत्यतिर जान्थ्यो।

अझै पनि लाइभ संगीत र क्लबमा साथीहरूसँग नाच्न रमाउने उनी सानोमा आमालाई नाच देखाउन मन पराउँथिन्। आमाले प्रंशसा गर्दिँदा फुरुंग हुन्थिन्। ‘कुछकुछ होता है’ हेरेर फर्केपछि धेरै दिनसम्म उनले काजोलको ‘डायलग’ बोलेर आमालाई वाक्कै बनाएकी थिइन्। ‘तर यही क्षेत्रसँग जोडिन्छु भन्ने सोचेकै थिइनँ,’ २९ वर्षीय समराले भनिन्।

सोचेका भन्दा नसोचेका कुरा नै बढी हुन्छन्। चन्द्रसँग तालिम लिएपछि उनका पाइला नसोचेकै दिशा मोडिए । निकेश खड्काको निर्देशन र प्रियंका कार्की अभिनित गीतका लागि मेक अप आर्टिस्ट बन्ने दिन उनमा उत्साह र डर बराबर थियो । सानो उमेरमै उतार चढाव भोगेकी समरा आमाबुवाको साथलाई नै यो क्षेत्रमा संघर्ष गर्ने आँट मान्छिन्। सुरूसुरूमा उनले ‘मैले काम गरेको फिल्म हो यो’ भन्दा आमाबुवाले सोध्थे, ‘छोरी तिमी खै?’

अचेल छोरीको काम बुझिसकेका उनीहरू भन्न थालेका छन्, ‘राम्रो काम गरिछौ।’ एउटा समय थियो, उनका साथीहरू कठैको भावमा भन्थे– सानैमा बिहे गर्‍यौ बच्चा पायौ, झन् डिभोर्स पनि गर्‍यौ। दुःख पाउने भयौ। अचेल सामाजिक सञ्जालमा ‘सेलिब्रेटी’ हरू सँगका फोटो देखेर तिनै साथी भन्छन्, ‘वेल डन् (राम्रो गर्‍यौ) समरा!’

प्रतिक्रिया दिनुहोस्