प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने

काठमाडौँ, २३ फागुन । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनु भएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण पछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधान मन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफैँले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताउनु भएको छ ।

“मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु” टेलिफोन संवादमा प्रधानमन्त्रीले राख्नु भएको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, “ मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनु होला ।” प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन ।

अ’ङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताउनु भएको छ। “प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन”, प्रेस सल्लाहकार थापाले भन्नुभयो, “ उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनु भएको छैन ।”

प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो। प्रधानमन्त्रीको स्वास्थ्यवस्था बारे नियमित जानकारी दिइने प्रेस सल्लाहकार थापाले बताउनु भयो। प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल लगायत शिक्षण अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्