रातभरि अनिँदाे बसेर सडक मर्मत

काठमाडौं, २४ फागुन । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो। त्यहीँ परि वर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा ।

त्यति मात्र हैन, दिउँसो कार्यालय र रात भरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् । सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रात भरि काममा खटिएको बताए । ‘हामीले बिहीबार बेलुका देखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।’ उनले राजधानीसँग भने ।

बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो । शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११ ,१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्