पर्यटक आउन छाडेपछि आन्तरिक उडानमा ४ अर्ब घाटा

काठमाडौं,२४ फागुन। आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि भ्रमणका लागि नेपाल आउन पर्यटक हिचकिचाइरहेको संघकाप्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले नेपालबाट फर्किने पर्यटकलाई संक्र मण नभए पनि उनीहरूको देशमा क्वारेन्टाइन राख्ने डरले अहिले पर्यटक नेपाल आउन चाहँदैनन्, उनले भने।

पर्यटक भित्रिने क्रम घटेसँगै यसले मुलुकको आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने संघले उल्लेख गरेको छ। यसले कम्तीमा ६ महिना सम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले सन् २० २० मा हवाई यात्रुमा आएको कमीले विश्वका वायुसेवा कम्पनीले ११३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको छ। यसबाट नेपाली वायुसेवा कम्पनीमा अछुतो रहने देखिँदैन।

नेपालमा कोरोना संक्रमण शून्यको अवस्थामै हुँदा पनि यहाँ आउने पर्यटकको संख्या ओरालो लागेको छ। पर्यटक नआएपछि घरेलु वायुसेवा कम्पनीले उडान भर्दै आएका विभिन्न क्षेत्रका पर्यटकीय स्थलको उडान, माउन्टेन फ्लाइट लगायत उडान प्रभावित बन्न पुगेको छ। यो अवस्था अझै एक महिना लम्बिने हो भने दैनिक क्यान्सिलेसन ८० प्रतिशम्म पुग्ने बताइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्