पानी बेचेर दिनको ३ सय कट्दैन, हात पसारेर खान स्वाभिमानले दिँदैन

काठमाडौं । दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन। तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा ।६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ ।

तर, समयलाई त्यो मञ्जुर भएन । सन्तान लाखापाखा लागे । कमाएको सम्पत्ति सन्तानकै शिक्षादीक्षामा सकियो। अनि दालभात जुटाउन बुढेसकालको शरीर घिसारेर पानी बेच्न थाले ।पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी सम्झिएर बलिन्द्र आँसु झार्छन् ।

मानौं भीडभित्र पनि एक्ला छन् उनी ।पानी बेचेर दिनको ३ सय बढी कट्दैन । हात पसारेर खान स्वाभिमानले दिँदैन। ‘जति नै दुःख परे पनि नखाइ नहुने रैछ’ आँसुु झार्दै उनी भन्छन्, ‘लानु केही छैन, बाचुन्जेल खानैपर्यो ।’ पानी बेच्दै गर्दा उनलाई दुई पटक गाडीले ठक्कर दिइसक्यो । ‘दुई पटकसम्म गाडीले हानिसक्यो,’ उनी भन्छन्, ‘खै कसरी–कसरी होस आएर बाँचेछु ।’

पानी बेच्दा बेच्दै थाकेपछि रामप्रसाद नजिकैको चौतारामा बसेर चिया खाँदै सुस्ताउँ छन् । विगत झलझली आउँछ । त्यस पछि आँखा गंगा बनाएर आफैंले आफैंलाई सम्हादै काममा फर्कन्छन् । मध्यम वर्गीय थुप्रै ज्येष्ठ नागरिकको कथा हो यो । आफ्नो श्रममा बाँच्न चाहने यस्ता पात्र दया होइन, प्रोत्साहन खोजेका छन् । प्रेमको भरोसा चाहेका छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्