‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’

काठमाडौं : नेपाल र भारतको सम्बन्ध हिमला झै अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिएका छन् । भारत बिहार राज्यको सुपौल जिल्ला स्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङगामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताएका हुन।

भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाष कुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताए। उनले दुई देशको सम्बन्ध बेटीरोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गरे। दुई देशको सम्बन्ध अटुटभएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेका एसडिएम सुभाषकुमारले बताए।

उनले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिए। इनरुवा नगर पालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको बताए। प्रमुख मेहताले भारती अधिकारी लाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिए। उनले नेपालमा अहिले भ्रमणवर्ष चलिरहेकाले भ्रमणका लागि एसडिएम सुभाषकुमारलाई आग्रह गरे।

नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा काठमाडौँको पशुपतिनाथ लगायगका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताए। भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमार ले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त गरे। सोही कार्यक्रममा बोल्दै भारत बिहार सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले यसको समाधानका लागि आग्रह गरे।

विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए। भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गराइएको थियो।

कार्यक्रम नेपाल भारत मैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जन चेतना समिति भारत वीरपुरको समन्वयमा भएको थियो । कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो। –रासस

प्रतिक्रिया दिनुहोस्