दोस्रो हाफको सुरुवातमै नेपाल विरुद्ध भारतलाई २-० अग्रता

काठमाडौं – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफ पछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो ।खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । त्यस अघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे । यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए ।

त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो । १४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन । लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो । १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन् ।

२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए। ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्ट भन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन्। मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आ’क्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्