‘हिँड्न थाले प्रधानमन्त्री केपी ओली !’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण अस्पतालले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको हो । आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

‘उहाँलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको छ’, पा.डा. खड्गाले भने । सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ। अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्य लाभ गरिरहेका छन्। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् । प्रत्यारोपण पछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्र’त्यारोपण गरिएको थियो । स्वास्थ्यमा समस्या देखिए पछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए। त्यहाँ उनको’ प्लाज्मा फेरेसिस’ गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए। त्यसपछि उनी नियमित डायलासिस गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्