कोरोना असर : प्रहरीमा मास्क अनिवार्य, हात नमिलाउन र नमस्ते गर्न निर्देशन

काठमाडौं : कोरोना भाइरसको संक्रमणले विश्वब्यापी रुप लिइरहँदा नेपालले पनि आइतबारयता अपरझट पूर्ण निर्यणहरु गरेको छ । अतिजोखिम ठानिएका मुलुकको भ्रमणमा जान रोक लगाउने देखि सभा/सम्मेलन गर्नमा समेत कडाईं लगाइ रहँदा नेपाल प्रहरीले पनि सतर्कताका उपाय सुरु गरेको छ ।

प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालय मार्फत आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए । विमान स्थल, ट्राफिक चेकिङ र भीड भाडमा खटिने प्रहरीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता क्षेत्रीले बताएका छन् । त्यसबाहेक साबुनपानीले हात धुने, स्वास्थ्यमा समस्या देखिए परीक्षण गरिहाल्न पनि सुझाइएको छ।

सकेसम्म हात नमिलाउन र नमस्ते गर्न निर्देशन दिइएको छ । प्रहरीमा अभिवादन गरिदै आए पनि साथिभाई र सेवाग्राहीसँग हात मिलाइदै आएको थियो । आइन्दा त्यस्तो नगर्न उर्दी जारी गरिएको छ । कोरोनाकै प्रभावले फागुन २३ र २४ गते धनगढीमा तय गरि एको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठी पनि तत्काललाई स्थगित गरिएको छ ।

यस्तै कोरोनाकै कारण मापसे चेकिङ समेत फितलो भएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त ब्रेथ लाइजर मेसिन नहुँदा शंकित व्यक्तिलाई मुखले सुँघेर गरिदै आएको चेकिङ अहिलेलाई स्थगित भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्