भारतबाट कोरोना भाइरस भित्रिने ख’तरा, नाकामा फितलो चेकजाँच

काठमाडौं : धनगढीका राजेश भट्ट शनिबार सीमा पारीको भारतीय बजार गौरि फन्टामा घरेलु सामान खरिदका लागि पुगेका थिए । फर्कंदा सीमा नाकामा ज्वरो नापिने, कोरोना (कोभिड –१९) सम्बन्धी जानकारी मुलक पर्चा पम्पलेट बाँडिने सुनेका थिए। तर, सामान खरिद गरी फर्कंदा नाकामा न उनलाई कसैले रोक्यो न चेकजाँच नै भयो।

‘भारतमा पनि तीन दर्जन बढीलाई कोरोना संक्रमण देखिइसकेको छ,’ भट्टले भने, ‘गौरीफन्टा नाका भएर दैनिक सयौंको संख्यामा नेपाली र भारतीयहरु आवात जावत गर्छन। तर, सीमामा प्रभावकारी चेकजाँचको अभावमा यस क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढी देखिएको छ।’ गौरीफन्टा नाकाबाट भारतको लखनउ, दिल्ली लगायतका शहरहरु नजिकको दूरीमा रहेका कारण सुदूर पश्चिमेलीहरु यही नाकाबाट आवात जावत गर्छन।

प्रदेश सरकारले यस नाकामा स्थापना गरेको हेल्थ डेक्समा अहेब दिनेश ठकुल्लालाई खटाइएको छ। एक्लैले सयौंको संख्यामा भित्रने सबैलाई चेकजाँच गर्न नसकिने उनको अनुभव छ। ‘कम्तिमा बिहान दुई तथा साँझ दुई जना खटाउनुपर्छ। एक्लैले सबैलाई चेकजाँच सम्भव हुँदैन,’ उनले गुनासो गरे। धनगढीको एक नाका झैं देशभरका अन्य नाकामा पनि प्रभावकारी चेकजाँच संयन्त्र नभएकाले स्थलमार्गबाट कोरोना भित्रने जोखिम बढेको छ।

तर, सरकारको नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा हालसम्म कोरोना भाइरसको सं’क्रमण नदेखिएको र बाहिरबाट आउनेलाई नियन्त्रण गर्न सरकारको बढी ध्यान केन्द्रित गरेको बताएका थिए । ‘स्थलगत मार्गबाट विदेशीहरु आउने ६ वटा मुख्य नाकाहरुसहित भारतबाट बढी आवातजवात हुने ३७ नाकामा स्वास्थ्यकर्मी सहितको टोली पठाएर प्रभावकारी निगरानी गरिरहेका छौं’ मन्त्री खतिवडाले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दाबी गरेका थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पनि ७ वटै प्रदेशमा स्वास्थ्यकर्मीको टोलीसँगै उनीहरुका साथमा आवश्यक सामाग्रीहरु समेत पठाएको दाबी गरे। ‘स्थलमार्गबाट हुने आवागमनका लागि ७ वटै प्रदेशमा ७ टोली पठाएका छौं र आवश्यकता अनुरुप थप नाकामा थप स्वास्थ्य कर्मीहरु पठाउने काम जारी छ,’ देवकोटाले भने, ‘उनीहरुका साथमा आवश्यक मास्क, थर्मामिटर लगायत सामाग्री पठाएका छौं।’

यता विभिन्न प्रदेशले पनि आफ्ना क्षेत्रका नाकाको अनुगमन सूरु गरेका छन्। प्रदेश एकमा स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य शाखा प्रमुख डा. भोगेन्द्रकुमार डोटेलसहित तीनजनाको टोली विराटनगर पुगेको थियो । उक्त टोली सँगको परामर्श तथा सुझावपछि सीमामा सतर्कता सुरु गरिसकिएको प्रदेश १ सरकारका समाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। प्रदेश सरकारले मुख्य ४ नाकालाई कडा निगरानीमा राखिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए। विराटनगर जोगबनी नाका, भद्रपुर नाका काकडभिट्टा नाका र इलाम पशुपति नाकाबाट भित्रिनेमाथि निगरानी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्