बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री सहित चार जनाले भोलि सपथ लिने तयारी

काठमाडौं : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो ।

तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन। तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि माधव नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् भने भदौ २मा मुख्यमन्त्रीको शपथ लिएकी थिइन्। अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् भने लगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् ।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन्। पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । वाग्मती प्रदेशमा सरकार बना उन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । वाग्मती प्रदेशमा भोलीनै नयाँ सरकार गठन हुने निश्चित छ ।

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा सपथ लिने भएका छन्।नेपाली कांग्रेस प्रदेश सभा एक सदस्यका अनुसार भोलि पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेलले सपथ लिँदैछन्। यस्तै माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् । “मन्त्रालयको विषय सपथ लिनु अघिसम्म टुंगोमा पुग्छ, अहिले यति नाम टुंगिएको हो,” बाह्रखरीसँग उनले भने । त्यी नेताका अनुसार बाँकी रहेको मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठ बन्धनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्