फिल्म सेटबाट अनुपमले गरे नेपाली पाइलटको प्रशंसा

काठमाडौं । अनुपम खेर र बोमन इरानीको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘उचाइ’ छायांकन अहिले नेपालमा भैरहेको छ । सगरमाथा क्षेत्रको लुक्ला र नाम्चेमा दुई साता छायांकन गरिए पछि अहिले मनाङका हिमाली भूभागमा फिल्म सुटिङ भैरहेको छ । अझै केही दिन फिल्म सुट हुने फिल्मको नेपाल व्यवस्थापन हेरेको थ्री हिव्लर्स पिक्चर्सले जनाएको छ ।

हेलिकोप्टर उडानको कारण अहिले फिल्मको कास्ट एन्ड क्रिउलाई एकठाउँबाट अर्को ठाउँमा जान सजिलो भैरहेको छ। कलाकारले समेत हेलिकोप्टरमा उडान भरेका तस्बिरहरु सेयर गरिरहेका छन्। आफूले हेलिकोप्टर मार्फत कठिन भौगोलिक बनावटमा पुगेर फिल्म सुटिङ गरिरहेको भन्दै अनुपमले ती ठाउँमा उडान भर्ने पाइलटहरुको प्रशंसा गरेका छन् ।

अनुपम लेख्छन्, ‘म उडान गर्दा प्रायः नर्भस हुन्छु । जुनसुकै जहाज उडाएपनि म विश्वका सबै पाइलटलाई उत्तिकै सम्मान गर्छु । मैले उचाइ फिल्म सुटिङको क्रममा हेलिकोप्टर मार्फत निकै कठिन भूगोलहरुमा उडान भरेको छु । म विशेष गरी विवेक खड्का र एन्डी थापा जस्ता पाइलटलाई धन्यवाद दिन चाहन्छु । कठिन परिस्थितीमा पनि उनीहरुले कसरी उडान गरेका छन् भन्ने कुराले मलाई रोमाञ्चित तुल्याएको छ ।’ अल्टि च्युड एयरका ती दुई पाइलटले समेत उचाइ फिल्मको क्रिउलाई उडान भर्नेबेलाका तस्बिर सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्