फलामे डन्डीको भाउ बढ्यो, सरकारको दाबी गलत साबित !

काठमाडौं : फलामे डन्डी उत्पादकले छडको मूल्य बढाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको तर्क गर्दै उनीहरुले दसैंलगत्तै किलोमा झन्डै ६ रुपैयाँले मूल्य वृद्धि गरेका हुन् । डन्डी उत्पादक कम्पनीले भाउ बढेको स्वीकार गरेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको भाउ बढेका कारण नेपालमा तयारी डन्डीको भाउ वृद्धि भएको दाबी गरे ।

नेपालका फलामे डन्डी उत्पादक मध्ये अधिकांशले विदेशबाट टिएमएस बिलेट आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । केही उद्योगले भने स्पन्ज आइरन आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । यति बेला दुवैथरी उत्पादनकले रडको भाउ बढाएका हुन् । नेपालकै अग्रणी छड उत्पादक कम्पनी पञ्चकन्या स्टिलले साउनसम्म प्रतिकेजी सय रुपैयाँ रहेको डन्डीको भाउ अहिले एक सय पाँच पुर्‍याएको छ ।

पञ्चकन्याले नयाँ मूल्यअनुसार ८ एमएमको फलामे डन्डी प्रतिकेजी १०७ का साथै १० देखि २० एमएमको डन्डी मूल्य १०४ र २५ एमएमको डन्डी मूल्य १०६ रुपैयाँ तोकेको छ । हामा स्टिलले पनि दसैंलगत्तै फलामे डन्डीको भाउ प्रतिकेजी ७ रुपैयाँसम्म बढाएको छ । दसैंअगाडिसम्म कम्पनीले ८ एमएमको डन्डी प्रतिकेजी ९५ रुपैयाँमा बिक्री गर्दै आएको थियो । अहिले भाउ बढाएर १०२ रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी १० देखि २० एमएमको ९९ रुपैयाँ, २५ एमएमको १०१ रुपैयाँ, २८/३२ एमएमको र ४.७५/७ एमएमको १०२ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको । यस्तै लक्ष्मी स्टिल कम्पनीले दसैंअघिसम्म सामान्य डन्डी प्रतिकेजी ९७ रुपैयाँमा बिक्री गर्दै आएको थियो । ८ एमएमको प्रतिकेजी सय रुपैयाँ र ७ एमएमको डन्डी १०१ रुपैयाँमा बिक्री गर्दै आएकोमा अहिले १०८ रुपैयाँसम्म पुगेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको आधारमा यहाँको मूल्य घटबढ हुने जनाएको छ । अम्बे स्टिलले प्रतिकेजी ६ रुपैयाँ सम्म मूल्य बढाएको छ । दसैंअगाडि अधिकतम ९६ रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले दसैंलगत्तकै प्रतिकिलो ६ रुपैयाँ बढाए १०३ रुपैयाँ कायम गरेको छ । अम्बे स्टिलले ८ एमएम, ३२ एमएम, २८ एमएम र २३ एमएम डन्डीको मूल्य प्रतिकेजी १०३ रुपैयाँ तोकेको छ ।

त्यस्तै १६ एमएम, १० एमएम, १२ एमएम र २० एमएम डन्डीको मूल्य प्रति केजी सय रुपैयाँ तोकेको छ । सरकारले भने चालु आर्थिक वर्षको बजेटमा लिइएको नीतिबाट फलामे रडको भाउ सस्तिने दा’बी गरेको थियो । सरकारले स्पन्ज आइरनको भन्सार शुल्क घटाएर टिएमएस बिलेट आयातमा भन्सार र अन्तःशुल्क बढाएको थियो ।

यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुनेदाबी अर्थमन्त्री जनार्दन शर्माले गरेका थिएभने स्पन्ज आइरनबाट फलामे डन्डी उत्पादन गर्ने उद्यमीले उनको नीतिको स्वागत गर्दै फलामे डन्डीको भाउ घट्ने दाबी गरेका थिए।तर अहिले अवस्था ठीक उल्टो हुँदा सर्वसाधारण मारमा परेका छन् । उनीहरुले घरलगायतका संरचना निर्माण गर्दा लागत बढी पर्ने भएको छ । सरकारी आयोजनाको लागत पनि बढ्ने भएको छ । नेपालमा दुई दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस्