जलेश्वर भन्सारबाट भित्रियो म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनी

वीरगञ्ज : जलेश्वर भन्सार नाकाबाट उपभोग्य मिति सकिएको तीन ट्रक भारतीय चिनी नेपाल भित्रिएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले अयोग्य प्रमाणित गरेको चीनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरी नेपाल भित्रिन दिएको हो । गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा विदेशबाट भित्रिने सामान परीक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ ।

तर त्यस विपरीत उपभोगका लागि अयोग्य चिनी जलेश्वर भन्सार कार्यालयले जाँचपास गरेर भित्रिन दिएको हो। सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाण्डौ आयातकर्ता रहेको ७२हजार किलो चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।

राजस्व कार्यालय पथलैयाले यस विषयमा केही बोलेको छैन । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति सकिएको खाद्यवस्तुको आयात र जाँच पास दुवै गर्न नमिल्ने बताउनु भयो । उहाँले जलेश्वर भन्सारले चिनी जाँच पास गरेको आफूलाई जानकारी नभएको बताउँदै आयात निर्यात प्रमाणीकरण कार्यालयले चिनी उपभोगको लागि योग्य नरहेको घोषणा गरेपछि चिनी जाँचपास गर्न नमिल्ने बताउनु भयो ।

उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताउनुभयो । सन् २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना रहेको उल्लेख गरिएको छ। उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रु अरी महिनामा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्