एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बो’केर एक हजार गाडी सौराहामा

बुटवल – नेकपा एमालेको दशौं राष्ट्रिय महा धिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तु बाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्यपि हरेक जिल्ला बाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देही बाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्धक रामचन्द्र भुसालले बताए ।

‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीनसय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने ।पश्चिम नेपाल बस व्यवसायी प्रालि सँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने ।

बस व्यवसायी प्रालिले बिहीबार साँझ देखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए । शुक्रबार देखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरि सकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्ने गरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए । लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्