प्रधानमन्त्रीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने भएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका ओलीको अनुमानित उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ लाग्ने शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए।

प्रधानमन्त्री ओलीको डिस्चार्ज पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने ‘अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आउने छ ।’ प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्नुलाई नै चिकित्सकहरुले सकारात्मक रुपमा लिएका छन्। डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअपमा रहने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्ती मार्फत जानकारी दिएकी छिन्।

‘आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भए पनि नियमित चिकित्सकको निगरानीमा हुनु हुने छ’ शाहले भनेकी छिन्। प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए। मिर्गौला प्रत्यारोपण गराएको १० औं दिनमा ओली डिस्चार्ज भएका हुन्। उनलाई मिर्गौला दिने भाञ्जी समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भएकी छिन्। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्