चार दिनमा एक गाग्रो पानी

भक्तिविलास पोखरेल, गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका– ११, चप्पन बरुवाधारका बासिन्दाले एक गाग्रो पानी पाउन चार दिन पर्खनु पर्छ । गाउँ देखि झण्डै छ किलो मिटर टाढा रहेको चिसापानी पाखाको मुहान सुक्दै गएपछि बरुवाधारवासी यो समस्या भोग्न बाध्य भएका हुन् ।

‘मुहानमै पानी सुक्दै गएपछि हिजोआज धारामा पानी भर्न चार दिनमा मात्रै पालो आउँछ, महिनाभरमा एउटा परिवारले चार–पाँच गाग्रोभन्दा बढी पानी पाउँदैनन्’– स्थानीय ईश्वरीप्रसाद खतिवडाले भन्नुभयो। मुहान नै सुक्दै गएपछि झण्डै २० वर्षअघि निर्माण गरिएको यो खानेपानी योजनाका धारामा पानी झर्न छोडेको हो । तर त्यसको विकल्पमा सम्बन्धित निकायले अहिलेसम्म चासो नदिँदा स्थानीयवासी चिन्तित हुँदै गएका छन् ।

मुहानमै पानी कम भएपछि रातभरि ट्याङ्कीमा जम्मा भएको पानी आलोपालो गरी वितरण गरिँदै आएको छ । बरुवा र चप्पन खोलाको बीचमा रहेको बरुवाधार गाउँका ५५ घरपरिवार छन् । खानेपानी योजनाका धारामा पानी आउन छाडेपछि गाउँले बरुवा र चप्पन खोलाको दूषित पानी पिउनुपर्ने बाध्यतामा छन् । नजिकैका गाउँमा त्रियुगा नगरपालिकाले ठूलो पम्पबाट पानी तानेर वितरण गरेको छ तर बरुवाधारमा भने नयाँ योजना निर्माण भएको छैन ।

चुनावका बेला खानेपानी ल्याइदिने आश्वासन आए पनि काम हुन नसकेको स्थानीय दिल कुमार राईले बताउनु भयो । ‘चुनाव पछि न त नेता आउँछन्, न त योजना नै’– राईले भन्नुभयो । पानीको मुहान बस्ती भन्दा तल भएकाले चप्पन बरुवाधार गाउँमा खानेपानी व्यवस्था गर्न कठिन र खर्चिलो छ । रकम थोरै भएकाले योजना सम्पन्न हुने कुरामा भने स्थानीयवासी विश्वस्त छैनन् ।

प्रदेश सरकारको १० लाख रुपियाँ बजेटबाट खानेपानीको योजना कार्यान्वयन हुने क्रममा रहेको त्रियुगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताउनु भयो। यो रकमबाट बरुवाधारमा कसरी खानेपानी पु¥याउन सकिन्छ भनेर ईष्टिमेट गर्ने काम भइ रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गाईघाटका प्रमुख इन्जिनियर सत्यनारायण साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्