फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग बिहे गर्छु : रेखा थापा

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले चाँडै वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । न्यूज २४ टेलिभिजनको ‘ई–टल्क’ कार्यक्रममा बोल्दै लेडी सुपरस्टार थापाले २०७९ साल भित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी हुन् । अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् । त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् ।

आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उनले अन्य अभिनेत्रीहरुले जस्तो ताम झामसँग विवाह नगर्ने जानकारी दिदै भनेकी छन्, ‘म यो देशको साधारण मानिस हुँ । मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै विहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन ।’

भेट्रान निर्माता छविराज ओझासँग छुट्टिएपछि विगत एक दशकदेखि अभिनेत्री थापाले एकल जीवन विताउँदै आएकी छन्। त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री थापाले नेपाली कलाकारिता क्षेत्रमा कोही पनि महान नभएको उल्लेख गर्दै महानायक, महानायिका लगायतका उपाधि दिन हतार गरिएको बताइन् । नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिइने ट्याग नसुहाउने उनको दाबी छ ।

नेपालमा कुनै क्षेत्रमा कुनै व्यक्तिले आजसम्म महान कार्य नगरेको र नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिने ट्याग नसुहाउने पनि उनको तर्क छ । यस्ता ट्याग लिने र दिने दुवैलाई लाज हुनुपर्ने उनी बताउँछिन् । ‘फिल्म बनाएर मैले केही परिवर्तन गर्ने कोशिश गरेँ भन्दैमा मलाई महान नबनाइदिनुस् । म महान होइन । मेरो महानता देखाउने अझै धेरै सिरिजहरु बाँकी छन्,’ उनले भनिन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्