सेतो प्लेटको गाडीमा ट्राफिकको ह्विल लक

काठमाडौं । बागबजार ब्यस्त सडकमा सडक अबरुद्ध हुने गरी राखिएको सेतो प्लेटको बा१झ ८६८५ नं को गाडीमा ह्विल लक लगाइएको थियो । एक जना ट्राफिक जवान छेउमै उभिइ रहेका थिए, एकैछिनमा एकजना सरकारी परिचय पत्र भिरेका ब्यक्तिसँगै उक्त गाडीका चालक आइपुगे । लक लागेको देखेपछि चालकले ट्राफिक जवानलाई छाडिदिन अनुरोध सहितको दवाब दिए।

ट्राफिक नियम उलङ्घन गरेकाले कारबाही गरेर मात्र सवारी साधन छोड्न मिल्ने भन्दै ट्राफिक जवान गाडीका चालकसँग कागजपत्र माग्छन्। ड्राइभर कागजपत्र सबै अफिसमै छुटेको बताउँछन्। चालकसँग कागजपत्र नभए पछि उनले ट्राफिक जवानलाई दुवै पक्ष सर कारी कर्मचारी भएकाले मिल्नुपर्ने भन्दै छाडिदिन आग्रह गर्छन्। ट्राफिकले ट्राफिक नियम सबैमा लागु हुने भन्दै कागजपत्र लिएर आउन भन्छन्।

चालकले ट्राफिकलाई आफूसँगै टेकुस्थित आफ्नो कार्यालय गएर कागजपत्र बुझिलिन आग्रह गर्छन। तर ट्राफिकले आफू डिउटीमा भएकाले त्यसो गर्न नमिल्ने बताउँछन् । ट्राफिकले आफ्नो अनुरोध स्विकार नगरेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प तालका परिचय पत्र भिरेका ब्यक्ति ट्राफिकलाई कागजपत्र लिन जाने गाडी भाडा देउ भन्दै थर्काउँछन्।

उनिसँगै आएका अर्का ब्यक्तिले महानगरीय ट्राफिक महा शाखाका प्रमुख भिम ढकाललाई फोन गर्न भन्छन् । कसैलाई फोन गरेर हुदैन कागजपत्र लिएर आएपछि चिट काटेर मात्र गाडी लान पाउनु हुन्छ भन्दै आफ्नो डिउटीतिर लाग्छन भने गाडी चालक कागजपत्र लिन टेकुतिर लाग्छन्। ह्विल लक लगाउने ट्राफिक जवान हुन पूर्ण बहादुर बि. क.।

यो सोमबार दिउँसो काठमाडौंको बागबजारमा भएको चालक र ट्राफिक प्रहरी जवानबीचको गलफत्ति हो। सेतो प्लेटधारी गाडीका चालकले जति गरे पनि ट्राफिक प्रहरीले कारबाही गरि छाड्ने बताएपछि चालक गाडी नलिइ फर्केका थिए । गाडी बागबजार मै रहेको ट्राफिक कन्ट्रोलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्