पाहुनालाई न्यानो स्वागत गर्न आतुर छौँ : अभिनेता हमाल

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजना अनुरुप अ’ङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो । उद्घाटन समारोहमा बोल्दै अभिनेता राजेश हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । ‘नेपाली दिदीबैनी दाजु भाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना’ हमालले भने ।

उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए। नेपाल सरकारले चासोका साथ लिएको ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता हमालले पर्यटन वर्षको शुरुवात गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समेतको उपस्थितिमा दशरथ रंग शालामा बुधवार अपराह्न आयोजित भव्य समारोहमा हमालले सम्बोधन गर्दै नेपालीले पाहुनालाई न्यानो स्वागत गर्ने बताए । नेपालका पर्यटकीय गन्तव्य बारे उल्लेख गर्दै हमालले पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आह्वान समेत गरे । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउन शुरू गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सह भागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्य मन्त्री प्रल्हाद सिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षण मन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानता सहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भन्नुभयो । उहाँले पर्यटन मार्फत अर्थतन्त्र र कूल गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न चाहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्