पाेशाकमै नेपाल छिरेका भारतीय प्रहरीले माफी मागे : आजै फिर्ता पठाइयाे

दैलेख : पाेशाकमै नेपाली भूमि दैलेख सदरमुकाम आइपुगेको भारतीय प्रहरी टाेलीलाई जिल्ला प्रशासन कार्यालयले फिर्ता गराएको छ। भारतको हरियाणा प्रदेशबाट आएको भारतीय प्रहरीको टोली मंगलबार बिहान सदरमुकाम दुल्लुमा पाेशाक मै हिँडिरहेको विषयलाई स्थानीयले आपत्ति जनाएपछि प्रशासनले उनीहरुलाई फिर्ता गरेको हो ।

भारतको हरियाणा प्रदेशको यमुनानगर जिल्लामा जिल्ला सदरमुकाम नारायण नगरपालिका घर भएका एक व्यक्तिले झण्डै ५०लाख रुपैयाँ बराबरको धनमाल ४ महिना अघि चोरी गरेको विषयमा आरोपितको पहिचान पक्का गर्न आएका भनिएका भारतीय प्रहरी पाेशा कमा घुमफिर गरेकोमा स्थानीयले आपत्ति जनाएका थिए ।

स्थानीयले आपत्ति जनाएपछि यमुनानगरका पुलिस सबइन्स्पेक्टर विजय विवेक सहितका ३ जना भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सादा पोशाकमा मात्र हिँड्न भनिएपछि उनीहरुले पाेशाक खोलेका थिए । यमुना नगरका पुलिस सबइन्स्पेक्टर विजय विवेकले भने दैलेखको प्रहरी कार्यालयमा भेट्न पाेशाकमै जाँदा औपचारिक परिचयलाई सजिलो हुने भएकाले पाेशाक लगाएकाे बताए।

भारतीय प्रहरी टोलीलाई जिल्ला प्रशासनले ‘छिमेकी देशमा आफ्नो देशको प्रहरी पाेशाक लगाउनु गलत हो’ भनेपछि ‘आफूहरुबाट नजानेर गल्ती भएको’ भन्दै माफी मागेका छन्। उनीहरु अहिले मंगलबार साँझ नेपालगञ्ज नजिकको भारतीय सीमा रुपैडिया पुगेको आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्