‘बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो’

काठमाडौँ । कतारको औधोगिक क्षेत्र सनैयामा बस्ने गोरखाका सुकपाल गुरुङ बिहीबारको रात्रिकालीन डिउटी सकाएर सुतेका थिए। शुक्रबार कतारको सार्वजानिक बिदा । रातभर डिउटी गरेको हुनाले उनको बिदाको दिन कतै बाहिर निस्कने योजना थिएन । शुक्रबार दिउँसा साढे २ बजेको कुरा हो । उनका एकजना साथीले किनमेलको लागि अलअत्तिया बजार जाउँ भनेर अनुरोध गरे ।

सुकपालले किनमेल गर्नलाई त्यस्तो खासै केही थिएन । उनले त्यसको केही दिनअघि मात्रै घरमा पैसा पठाएका थिए । साथीले अनुरोध गरेपछि उनले पनि एउटा पुरानो पाइण्ट किन्ने सोँच बनाउँदै आफूसँग भएको १० रियल साथमा लिएर कचरा मार्केट तिर लागे । ‘सेलरी आएपछि नेपाल पठाइसकेको थिएँ । किन्नुपर्ने त्यस्तो खासै त केही थिएन, उनले भने ‘ कचरा मार्केटमा ५ रियलमा सेकेण्ड ह्याण्ड पाइण्ट पाउँछ भन्ने सुनेको थिएँ ।

साथीले जाउँ भनेपछि मलाई पनि किन्न मन लागेर त्यहाँ जाँदै थिएँ ।’ अलअत्तिया बजार जसलाई गैरकानुनी बजार भनेर चिनिन्छ। गैरकानुनी बजार भनिएता पनि यहाँ व्यापारीहरुले खुल्ला रुपमै विभिन्न व्यवसायहरु गर्दै आएका छन् । बेलावखत प्रहरीले छापा हानेर त्यहाँ किनबेच गर्ने व्यक्तिहरुलाई पक्राउ गरेपनि यो मार्केटलाई पूर्णरुपमा बन्द गराउन सकेको छैन ।

५ रियलको पुरानो पाइण्ट किन्न त्यही कचरा मार्केट हिँडेका सुकपाल त्यो मार्केट सम्म पुग्न भने पाएनन् । सोही कम्पनीमा काम गर्ने अन्य ३ जनाको साथमा गएका सुकपाललाई मार्केट नजिकै पुग्नैलाग्दा कतार प्रहरीले एक्कासी घेरा हाल्यो । प्रहरीले सुकपाल सहित साथमा गएका अर्का एक जना साथी डिल बहादुर पराजुलीलाई समातेर गाडीमा कोच्यो । अरबिक भाषामा प्रहरीहरु बोलिरहेका थिए ।

उनले आफू समात्निुको कारण त्यो बेला बुझन्न सकेनन् । ‘मार्केट पुग्नै लागेका थियौँ । एक्कासी पुलिसले घेरा हालेर समात्यो । अनि तान्दै गाडीमा बस्न लगाएर हातमा हत्कडी लगाइदियो,’ उनले सुनाए । अन्य दुई जना भने उनीहरुलाई समातेर भ्यानमा हाल्दै गर्दा प्रहरीको आँखा छलेर भागेका थिए । प्रहरीले गाडिमा बसाएर उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो ।

त्यहाँ पुग्दासम्म उनलाई थाहा भएन आफू पक्राउ पर्नुको कारण । सफर जेलमा उनी जस्तै थुप्रै नेपाली सहित अन्य देशका नागरिकहरुलाई जम्मा पारिंदै थियो । उनीहरुलाई २ दिनसम्म त्यहीँ जेल भित्र राखिएको थियो । आइतबार साँझ उनीसहित २ सय ५० जना नेपालीलाई कतारले डिपोर्ट गरि नेपाल फर्काइदिएको छ । उनीहरुलाई सरकारको निर्देशन उल्घंन गरेको भन्दै नेपाल फकाइएको हो ।

कतारमा कोरोनाले उग्ररुप लिन थालेको छ। कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सनैया एरियाका कामदारहरुलाई कतार सरकारले बाहिर नहिंडन भनेको थियो । तर, समयमै सूचना नहुँदा सुकपालसहित २ सय ५० जना नेपालीले आफ्नो रोजगारी गुमाएका छन् । सुकपाल चप्पल लगाएर मार्केट गएका थिए । उनी सोही चप्पलमै नेपाल आएका हुन् । ‘मलाई थाहा थिएन बाहिर हिंडन रोक लगाएको छ भन्ने कुरा ।

हामीलाई कसैले भनेको पनि थिएन । सूचना पनि कतै आएको देखेको थिएन, नेपाल फर्केका सुकपालले भने ‘ बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो।’ ‘मलाई सरकारले बाहिर हिंडन् रोक लगाएको भन्ने थाहा भएको भए सरकारी निका यको निर्देशन किन पो उल्घंन गर्ने थिएँ र ? उनले थपे‘सरकारी निकाय र कम्पनीले राम्रोसँग सूचना नदिँदा ठूलै नराम्रो काम गरे जस्तो गरि नेपाल पठाइयो । बिना गल्ती सजाय भोगियो ।’

सुकपाल कतारमा नेपालीले नै सञ्चालन गरेको एक कम्पनीमा स्काफोल्डरको काम गर्छन् । उनका अनुसार कम्पनीबाट डेढ महिनाको तलब करिब १७ सय कतारी रियल पाउन बाँकी छ । उनले काठमाडौँ ओर्लिएपछि आफ्नो कम्पनी मालिकलाई फोन गरेर आफ्न्नो बाँकी रहेको तलब पठाइदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्