प्राथमिकतामा घरका पाहुना, ‘नबोल्ने भनेपछि नबोल्ने के’ भन्दै हिँडे स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । चीनको वुहानबाट सुरु भएको नाबेल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ६२ देशमा फैलिइसकेको अवस्थामा नेपाल पनि उच्च जोखिममा छ । कोरोना संक्रमण फैलिएका देशका मन्त्री प्रधानमन्त्रीहरुले हरेक दिन ताजा अवस्थाको बारेमा आफै मिडियामार्फत ब्रिफिङ गरिहरेका हुन्छन् । तर, नेपालमा भने सरकारका स्वास्थ्य मन्त्रीले भने आफूलाई मन लागेको समयमा मात्रै जवाफ दिने भएका छन् ।

जसको उदाहरण न्यूज २४ टेलिभिजनले एउटा भिडियो प्रसारण गरेको छ, जुन सोसल मिडियामा भाइरल बनेको छ । घरमा पाहुना आएकाले अहिले बोल्न नमिल्ने भन्दै हतार– हतार क्यामेरा छलेर हिँड्ने व्यक्ति स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हुन् । पटक– पटक समय नमिलेको भन्ने मन्त्री ढकालको जवाफपछि फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुगेका बेला प्रश्न सोध्न खोजिएको थियो ।

टिभी जर्नलिष्टद्वय अंगराज न्यौपाने र केशव निरौलाले कोरोना भाइरस संक्रमणको पूर्व तयारी के छ ? भन्ने प्रश्न गर्न खोज्दा मन्त्री ढकालले आफ्नो घरमा पाहुना आएकाले ‘अहिले नबोल्ने, नबोल्ने भनेपछि नबोल्ने के’ भन्दै हिँडेका थिए। हामीले मंगलबार पनि मन्त्री ढकालसँग कुराकानी गर्न पटक–पटक प्रयास ग-यौं । उनको फोन उठाउने स्वकीय सचिवले पटक–पटक मन्त्री ढकाल मिटिङमा भएको जवाफ फर्काए ।

त्यसपछि पनि हामीले ३/४ पटक मन्त्री ढकालको फोनमा सम्पर्क ग-यौं, तर फोन उठेन । ५ औं पटक फोन गर्दा फोन त उठ्यो तर, ‘मन्त्री ज्यू, मिटिङ सकेर गइसक्नु भयो’ भन्ने जवाफ आयो । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्या’रोपण पछि आराम गरिरहेका छन् । प्रधानमन्त्री बिरामी परेका बेला विभागीय मन्त्रीहरुले अझ आफ्नो कामलाई बढी ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रमा विश्व आक्रान्त भइरहेको समयमा सरकारको जिम्मेवार मन्त्रालय सम्हालेका मन्त्री ढकालको शैली भने गैर जिम्मेवार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्