सिंहदरवारमै अग्नी र गणेशको भनाभन

काठमाडौं : पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहर सम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवार मै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो । महा सचिव मनोहरप्रसाद भट्टराई आइतबार देखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा ।

नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिना अघि सभामुख निर्वाचित अग्नी सापकोटासँग कुरा गर्न चाहेका थिए । अग्नीले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने, ‘साथीहरुले अहिले गोपाल योगी लाई कार्यवाहक बनाऔँ भन्नुभएको छ ।’ गणेश बम्किए, ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड, सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ ।

अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’ अग्नीले सम्झाउन खोज्दै गर्दा गणेश जुरुक्क उठेर निस्किए । गणेश बाहिरिएको केही बेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे पुगिन् । उनले थपिन्, ‘संसद चलाउनेजस्तो संवेदनशील कुरा छ । न महासचिव बनाउन उमेर पुग्छ, न क्षमताले भ्याउँछ । तपाईंहरुलाई मन लाग्दैमा हुन्छ ?,’ उनले भनिन् ।

खासमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह रहेछ । संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबभन्दा सिनियर पनि उनै हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनासँग केही साता अघि मात्रै अग्नी सापकोटाको भनाभन चलिसकेको थियो, इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जानेबारे ।

गणेशले म जान्छु भनेपछि अग्नीले भनेका थिए, ‘तपाईं आफ्नो मर्यादामा बस्नुहोस् मेरो काममा इन्टरफेयर नगर्नुहोस् ।’ त्यसपछि गणेशले चर्कदै भने, ‘मलाई मर्यादा सिकाउने ? लु, संविधान निकाल्नु होस्, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ ?’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्