भाेलिदेखि ७० लाख बालबालिका घरमै, भिडभाडमा नजान अनुरोध

काठमाण्डाै : बिहीबार देखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबार देखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो । कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबार सम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो ।

त्यही निर्देशन अनुसार बुधबार सम्ममा देश भरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर बुधबार परीक्षा सकिए पछि विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक नगर्न, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैसँग अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले घरबाहिर नजान पनि सबैसँग आग्रह गरेको छ । मन्त्रालयले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। बिहीबार देखि आउँदो १७ गते सोमबारसम्म देशभरका एक हजार ९ सय ९५ परीक्षा केन्द्रमा चार लाख ८२ हजार दुई सय १९ जनाले परीक्षा दिने तयारी छ । सात सय ५३ वटै पालिकालाई हेल्थ डेस्क राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले कोभिड–१९ काे रोकथाम तथा नियन्त्रणका लागि स्वयं सेवक परिचालन गर्ने भएको छ । स्वयं सेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ । समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्