क्याम्प बाहिर निस्कँदा २५० नेपाली फर्काइए

काठमाडौँ : कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए । नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए ।

उनीहरू किन डि’पोर्टमा परे ? सोमबार मात्र काठमाडौं ल्याइएका सुनार लगायतको ठूलो जमात अलमलमा थियो । शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षा कर्मीले सनैया स्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए । उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए ।

‘अहिले कोरोनाको चेक भइरहेको छ । गाडी तेरो हो । मान्छे तैँ नै हो । तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो । उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए । ‘कोरोनोको बिगबिगी चले को छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले कान्तिपुरसँग भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइ दियो । मोबाइल स्विच अफ गरिदियो ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्