विद्यालय सहयोगीका पी’डा : वर्षौंदेखि अस्थायी, निस्कँदा रित्तो हात

मनोज भट्टराई, ओखलढुङ्गा : सरकारी विद्यालयका सहयोगीहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राखेको बर्षौं भयो । विद्यालयको दैनिक पठन–पाठन सञ्चालन गर्न आधारभूत र अत्यावश्यकीय भूमीका निभाउने सहयोगी हरुको पी’डा सुन्दा लाग्छ–सरकारले नै उनीहरुमाथि चरम अन्याय गरिरहेको छ। विद्यार्थीहरुको भविष्य र समाजको शैक्षिक उन्नयनका लागि दिनरात खटिएर जीवन निखार्दै गरेका ओखलढुङ्गाका विद्यालय सहयोगीहरुको पीडा पनि उस्तै छ।

वि.सं. २०४१ साल भदौमा श्री ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक बिद्यालयमा विद्यालय सहयोगीका रुपमा नियुक्त गाम्नाङटारका अम्वरबहादुर भुजेल अहिलेसम्म पनि सोही विद्यालयमा कार्यरत छन्। उनले विद्यालयमा काम गर्न थालेयताका शिक्षकहरुले आकर्षक तलब र पेन्सन बुझिरहँदा सोही विद्यालयका सहयोगी भुजेल चाहिँ अहिलेसम्म स्थायी हुने दिन कुरिरहेका छन्।

फूलबारी घोराखोरीका तिलक खड्काको पनि उस्तै छ। खडकाले वि.सं. २०३५ साल मंसिरदेखि ज्ञान प्रकाश माध्यमिक विद्यालयका सहयोगी हुन्। ४१ बर्षदेखि विद्यालयमा कार्यरत उनी आजसम्म पनि स्थायी हुन सकेका छैनन्। भुजेल र खड्काजस्तै जिल्लाका अधि कांश विद्यालय सहयोगीहरु बर्षाैंदेखि अस्थायी नै छन्।

राज्यले सुन्दै : सुन्दैन नियुक्त भएपछि अहिलेसम्म हरेक दिन विद्यालयको सेवा गरिरहेका सहयोगीहरु अस्थायी नै छन्। तत्कालिन प्रधानाध्यापक लोककृष्ण भट्टराईका अनुसार अम्वरबहादुर भुजेललाई वि.सं. २०४१ सालमा विद्यालय सहयोगीका रुपमा नियुक्ति दिइएको हो। राजनीतिलाई पनि नजिकबाट नियालिरहेका भट्टराई लामो समयसम्म विद्यालयकै लागि खटिएका भुजेल स्थायी नहुँदा निकै दुःख लागेको बताउँछन्।

भुजेलजस्ता हजारौ विद्यालय सहयोगीहरुलाई स्थायी बनाउने बारे राज्यले अहिले सम्म केही नगरेको भट्टराईलाई लागेको छ। विद्यालय सहयोगीहरुलाई स्थायी गरी उनीहरुको भविष्य सुनिश्चित गर्न शिक्षक आन्दोलनमा आफूहरुले कुरा उठाए पनि कुनै सुुनुवाई नभएको उल्लेख गर्दै भट्टराईले भने, ‘शिक्षा मन्त्रालयमा हिजो गाउँठाउँका सरकारी विद्यालयको समस्या बुझेका मानिस पुगेका छन्,

तर निकै पीडामा रहेका विद्यालय सहयोगीहरुका हकमा न्याय गर्ने काम अहिलेसम्म भएको छैन।’ अस्थायी भएकै कारण विद्यालयमा कार्यरत अन्य कर्मचारीहरुले विभिन्न समयमा आन्दोलन गरे र परीषामार्फत स्थायी भए। यसबीचमा अस्थायी शिक्षकले विभिन्न चरण मा आन्दोलन गर्दै स्थायी भए। तर विद्यालय सहयोगीका समस्या र पीडा भने कसैले बुझिदिएका छैनन्।

रित्तोहात सेवा : सरकारी विद्यालयमा वर्षौसम्म काम गरेका विद्यालय सहयोगीहरु सेवाबाट रित्तोहात फर्कनुपरेको छ । भुजेल कार्कीले पनि यही नियती भोग्नुपर्ने देखिन्छ । बर्षाैं देखि अत्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेका उनीहरु सरकारी नियम अनुसार अब केही वर्ष पछि सेवानिवृत्त हुनेछन्। विद्यालयबाट फर्कँदा उनीहरुको हातमा पेन्सनपट्टा होइन, बाँकी जीवन गुजार्न र परिवार चलाउन बृद्ध उमेरमा अर्को काम खोज्नुपर्ने समस्या हुनेछ।

राज्यले उनीहरुजस्ता हजारौ विद्यालय सहयोगीहरुको जीवनमा नै खेलवाड गरिरहे जस्तो देखिन्छ । आफू भन्दा पछि नियुक्ति लिएर आएका दर्जनौं अस्थायी शिक्षक स्थायी भएर गईसक्दा पनि अस्थायी शिक्षकहरुले निरन्तर अस्थायी सेवा नै गरिरहेका छन् । जीवनको उर्जाशिल समयमा विद्यालय सहयोगीको रुपमा सेवा गरेपनि बुढ्यौली लागेपछि पेन्सन बिना नै घर फर्कनुपर्ने अवस्थामा रहेका यी शिक्षाकर्मीहरु भविष्यको त्रासमा छन्।

भुजेलले हालसम्मको सेवाअवधिमा आठ जनाभन्दा बढी त प्रधानाध्यापक नै भोगिसकेका छन्। विद्यालयमा पढाउन आएका कैयन शिक्षकहरुलाई त उनले बिर्सिसके पनि। जिन्दगीको ५६ हिउँद गुजारिरहेका भुजेलले अब विद्यालयमा बढीमा चार बर्षसम्म मात्रै सेवा गर्न पाउनेछन्। तर ज्यानमा तागत हुँदासम्म विद्यालयको सेवा गरेका उनी रित्तो हात सेवाबाट हटेपछि बुढ्यौलीमा दुःख पाईने त्रासमा छन्।

प्रतिक्रिया दिनुहोस्