सतुवा खेती फस्टाउदै

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिक रूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो । गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर रु छ लाख आम्दानी गर्नुभएका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काउनु भएको छ ।

ती बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी हुने बानियाँले बताउनुभयो । टिमुर लगायतका विभिन्न किसिमका औषधीय गुणले युक्त बहुउपयोगी जडीबुटी खेतीमा लाग्नुभएका बानियाँले दुई वर्षअघि इलाम पुगेर रु एक लाख ११ हजारमा एक केजी सतुवाको बीउ खरिद गरेर ल्याई म्याग्दीमा सतुवा खेतीको शुरुआत गर्नुभएको थियो । बानियाँ सतुवा खेती गर्ने जिल्लाको पहिलो कृषक हुनुहुन्छ ।

“टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, माग अनुसारका बिरुवा पु¥याउन सकेको छैन”, बानियाँले भन्नुभयो । उहाँका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवाको माग काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन् । आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना रहेको बानियाँले बताउनु भयो ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेतीगर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवा लगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनु भयो। बानियाँले पहिलो वर्ष ग्रीनहाउस निर्माण, माटो परीक्षण गरी सतुवाको बीउ ल्याएर लगाएको बताउनु भयो । उहाँका अनुसार अहिले सतुवाका बिरुवा खरिद गर्न बाहिरी जिल्लाबाट समेत मानिस आउन थाले पछि नर्सरीमा भीड लाग्न थालेको छ । बानियाँले समूहमा आउनेलाई प्रति बिरुवा रु ३५ र व्यक्तिगत रूपमा आउनेलाई प्रतिबिरुवा रु ५० मा बिक्री गर्दै आउनुभएको छ । बानियाँ सतुवा खेती गर्ने म्याग्दीको एक मात्र किसान हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्