ओखलढुंगामा डाक्टरले राखेको दाँत अतिथिले ठेलेर कार्यक्रमको उद्घाटन

काठमाडौं : केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ। फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ।

मुख बाहिर पनि सेता पञ्जा लगाएका हातहरु छन्। सबै हाँसिरहेका छन्। दन्त शिविरको उद्‍घाटन यस्तो, पाइल्स उपचारको शिविर भए के गर्ने होला? शल्य क्रियाको भए झन् केगर्ने होला भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य प्रशस्त छन्। यहि चैत ३ गतेदेखि ६ गते सम्म ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा आयोजना भएको कार्यक्रमको उद्घाटनको फोटो हो।

कार्यक्रम थियो- “ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम तथा नोबेल कोरोना भाइरस सम्बन्धी जनचेतना मूलक कार्यक्रम”। कार्यक्रमको ब्यानर टाँगिएको छ । सोही ब्यानर अगाडि उभिएर डाक्टरले दाँत नभएकी एक जना वृ’द्धाको मु’खमा कृत्रिम दाँत राखिदिन्छन्। अतिथि हरुले उक्त दाँतलाई छोएर फिट गरिदिएजस्तो गर्छन् । दाँत छुन नसक्नेहरुले जसले छोएको छ, त्यही व्यक्तिको हात छुन्छन्, सामूहिक पूजामा मुख्य कर्ताको हात अन्य कर्ताले छोएजस्तै ।

अनि सम्पन्न हुन्छ दाँत उपहार कार्यक्रमको उदघाटन समारोह । फोटोमा देखिएकी महिला प्रदेश नम्बर १ की सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर हुन्। यो कार्यक्रमका प्रमुख अतिथि । उनैलाई ट्याग गरी कसैले हालिदिएको फोटोनै सामाजिक सञ्जालमा फैलिएको हो। फोटोमा देखिएका कालो टोपी लगाउने चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी हुन् भने अरु दुई जनामा प्रदेश सांसद मोहन खड्का, र वडा अध्यक्ष अजय लुइँटेल हुन्।

गाउँपालिका अध्यक्ष नवराज केसीले कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायबारे जानकारी दिन र दाँत नभएका सबैलाई दाँत उपहार दिने अभियान गाउँ पालिकाका बिभिन्न स्थानमा चलाएको बताए। उनले डेन्टिस्ट केशव रिमाल बाहेक अरुले मुखमा नछोएको दाबी गरे । उनले भने, ‘बिरामीको दाँत ठेलेर शिविर उदघाटन गरेको भनिएको छ, वास्तवमा त्यस्तो होइन ।’

प्रतिक्रिया दिनुहोस्