बजारमा कुनैपनि वस्तु अभाव भए म जिम्मा लिन्छु : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताएका छन् । बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताएका हुन् ।

मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए । उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन् । राज्यले अभाव हुन दिन्न । विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ ।’

मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरेका छन् । कन्ज्युमर आइका महासचिव राजन खनालले खानेपानी संस्थानले दिने खानेपानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने बताए । ‘हाम्रो धारामा आएको खाने पानीले हात धुँदा हामी सुरक्षित हुन्छौँ भन्ने ग्यारेण्टी कसैले गर्न सक्छ ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्