नुवाकोटमा ५० हल गोरुको घम्साघम्सी

नुवाकोट – नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । यो वर्ष नुवाकाेटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइने तयारी भएको छ। गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ ।

तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँदैछ। तारकेश्वर गाउँपालिकाको तारुका विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइने भएको छ ।

तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाउनको लागि स्थानीय मेला आयोजक समितिमा गोरु धनीहरुले गोरु दर्ता गराएको आयोजक हरुले जनाएका छन् । नेपालको राजनीतक खेल, दाउपेज र तिकडमलाई कतिपयले नुवाकोटको गोरु जुधाइसँग तुलना गर्ने गर्दछन् ।

नेताहरुलाई व्यङ्ग्य गरिने यहाँको गोरु जुधाइमा सधैँजसाे प्रमुख राजनीतिक हस्तीहरु नै प्रमुख अतिथि बनेर आउने गरेका छन् । यो वर्षको गोरु जुधाइमा पनि दुई राजनीतिक हस्ती नुवाकोट आउने भएका छन्– प्रमुख अतिथिको रुपमा । तारुकाकाे गोरु जुधाइको प्रमुख अतिथि बन्न नेपाली काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला आउने हुनु भएको छ भने बेत्रावतीको गोरु जु’धाइको प्रमुख अतिथिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे आउनु हुनु भएको छ । यस्तै, घले भञ्ज्याङको गोरु जुधाइमा डा. रामशरण महत प्र मुख अतिथि रहनु हुने भएको छ

प्रतिक्रिया दिनुहोस्