लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

१६ चैत, काठमाडौं । सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दी (लकडाउन) एक साता लम्ब्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो।

यस्तै मन्त्रिपरिषद् बैठकले समितिले नै प्रस्ताव गरेको अनुसार अप्रिल १५ सम्म हवाई उडान रोक्ने निर्णय पनि अनुमोदन गरेको छ। यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा रहेका नेपालीलाई एक पटकका लागि नेपाल प्रवेश गर्न समेत दिने निर्णय गरेको छ। तर उनीहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ।

‘आवश्यकता अनुसार बन्दाबन्दी लम्ब्याउने तयारी गरिएको छ। गरिब तथा विपन्न परिवार व्यावसायीका लागि आर्थिक प्याकेज लायाउने भनिएको छ। यस्तै बन्दाबन्दी उल्लंघन भइरहेको अवस्थामा थप कडाई गराउने उच्च स्तरीय समितिमा छलफल भएको छ समिति सचिवालयका एक सदस्यले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्