रंगरोगन गरेर चिटिक्क बनाईदै राजधानीका सडक

काठमाडौं : लकडाउनले सडक खाली छन्। पछिल्ला दिनमा चिल्ला बनाइएका राजधानीका अधिकांश सडक यतिबेला रंगरोगन गरेर चिटिक्क बनाईदैछ। घमाइलो मौसम, सडक खाली र थोरै कामदार भए पुग्ने सडक रंगरोगन काम शनिबार बाट शुरु भएको हो। ‘२/४ जना कामदार भए पुग्ने, बाँकी काम मेसिनले गर्ने’ भौतिकमन्त्री वसन्त नेम्वाङ्ग भन्छन ‘लकडाउनको बेला रंगरोगनको काम नै सहज र उपयुक्त लाग्यो।

रंगरोगन र मार्कको काममा संलग्न कामदारको सुरक्षाका लागि प्रयाप्त ध्यान दिइएको मन्त्री नेम्वाङ्गले बताए। राष्ट्रपति भवनदेखि पुतलीसडक थापाथली, माइतीघरलगायतका स्थानका सडक रंगरोगन, मार्कि र मर्मतको काम भइरहेको मन्त्री नेम्वाङ्ग बताउँछन। नेम्वाङ्ग मन्त्री बने यता उपत्यकामा झण्डै ४० किलोमिटर सडक ओभर पिच, नयाँ पिच र मर्मतको काम सम्पन्न भएको छ।

बाँकी सडक मर्मत र पिचको काम धमाधम अघि बढि रहेका बेला कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा परेपछि सडक मर्मत र सम्भारको काम पनि प्रभावित बनेको छ । चावहिल गौशाला सडक पिच र रिंगरोडको चावहिल कलंकी भागको काम अघि बढाउने तिब्र तयारीको काम कोरोना संक्रमण र लकडाउनका कारण प्रभावित बनेको मन्त्री नेम्वाङ्ग बताउँछन्।

सबैभन्दा धेरै धुलो र भत्केको चावहिल गौशाला सडकमा खानेपानीका पाइप मर्मत गरि पिचको काम अघि बढाउन खोज्दा मुलुक लकडाउन गएको थियो। लकडाउन खुलेपछि बढीमा तीन सातामा चावहिल गौशाला सडक पिच हुने र रिंगरोडको दोस्रो चरणको काम पनि शुरु हुने मन्त्री नेम्वाङ्गले बताए। ‘काठमाडौंमा त लगभग सडकको काममा निकै प्रगति भइसकेको छ’ मन्त्री नेम्वाङ्ग भन्छन् ‘फागुन देखि वैशाखसम्मको समय भनेको देशभर नै धमाधम पिचको काम अघि बढाउने मौसम हो।

तर कोरोनाका कारण यो वर्ष सोचे जस्तो काम नहुने भयो। पुल ढलान र निर्माणको कामका लागि जेठ असारमा पानी पर्न शुरु हुन्छ, त्यो बेला पुल ढलानको काम गर्न पाईदैन’ मन्त्री नेम्वाङ्ग भन्छन् ‘अहिले पुलको काम गर्न नपाए ५/६ महिना अरु कुर्नुपर्ने हुन्छ । सडक मर्मत र निर्माणको कामसँगै रातदिन काम गर्ने कामदार र मजदुरको सुरक्षा पनि यतिबेला चुनौतीको विषय बनेको भौतिक मन्त्रालयका अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्