लकडाउन केहि खुकोलो बनाउने सरकारको निर्णय, अब के के गर्न पाइन्छ ?

काठमाडौं : १० दिनसम्म गरिएको लकडाउनपछि शुक्रबारबाट केही खुकुलो हुने देखिएको छ। बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लिएका केही निर्णयबाट खुकुलो हुने देखिएको हो। समिति को बैठकले ढुवानीलाई थप सहज बनाउने निर्णय गरेको छ । यसले ढुवानी सेवामा रहेका र खाद्यवस्तु ओसार-पसारलाई थप सहज बनाउनेछ ।

विगत १० दिनभन्दा केही बढी चहलपहल बढ्नेछ । विशेषगरी आयातमा पनि समस्या भएको र राष्ट्रिय गौरवका आयोजनाका कामहरूसमेत प्रभावित भएकाले सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय लिएको हाे। ‘लकडाउन भएको आज १०औँ दिन पुगेको छ । औषधि, खाद्य सामग्री, इन्धनलगायतको आपूर्तिमा असहज नहोस् भनेर यस्ताे निर्णय गरिएको छ’ खतिवडाले भने ।

आपूर्तिलाई सहज बनाउन उत्पादनलाई पनि प्राथमिकतामा राखिएको छ । ‘खाद्य उत्पादन गर्ने उद्योग र अति आवश्‍यक उद्योगले त्यही उद्योग भित्र कामदारहरू सुरक्षित राखेर काम हुने छ,’ खतिवडाले भने, ‘अन्य उद्योगहरूले पनि आवासीय रूपमा मजदुर पूर्ति गरेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन सक्नुहुनेछ ।’ त्यस्तै, १० दिनदेखि रोकिएको राष्ट्रिय गौरवका आयोजनाको काम पनि सुचारु गर्न सकिने निर्णय सरकारले लिएको छ ।

‘विशेषगरी ठूला राष्ट्रिय गौरवका आयोजना तामाकोशी, मेलम्चीलगायतमा धेरै श्रमिक हुनुहुन्छ, उहाँहरूले कामदारलाई सुरक्षित राखेर काम गराउन सक्नुहुन्छ’ खतिवडाले भने, ‘अन्य आयोजनामा पनि बाहिरबाट कामदार नलिई काम गर्न स्थानीय प्रशासनले सहजी करण गर्नेछ।’ त्यस्तै, कृषिको काम गर्नका लागि पनि सहजीकरण गरिएको छ ।

बाहिरबाट कामदार नलिई स्थानीय रूपमा खेतीपाती गर्नका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने निर्णय समितिको बैठकले गरेको छ । यी विषयमा गरिएको निर्णयका कारण तुलनात्मक रूपमा लकडाउन खुकुलो हुनेछ । तर, सीमा नाकामा भने सरकारले थप कडाइ गर्नेछ । सीमानाकामा रहेका नेपालीहरूलाई पनि १४ दिन क्वारेन्टाइन बसेपछि मात्रै भित्र्याउने जनाइएको छ

प्रतिक्रिया दिनुहोस्