सीमामा अलपत्र परेकाहरू भन्छन- ‘नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने’

भैरहवा: नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो। ‘धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो।

नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले अन्नपूर्णसँग भनेकी छिन- ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’

नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी छेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अल पत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन।

जमुनाहा पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले सरकारले घर फर्किन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको सुनाइन्। नेपालबाट प्रदेश सांसद नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीका बाँके प्रमुख एसपी वीर बहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार, एसपी विपिनकुमार बीच बुधबार राति छलफल भएको थियो । सीमामा रहेका नेपालीलाई आधा–आधा व्यवस्थापन गर्ने नीति अनुरूप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भएको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्