सरकारी दावी एकातिर विरामीको पीडा अर्कोतिर : एम्बुलेन्सले विरामी बोक्दैनन्, अस्पतालले भर्ना लिदैनन्

उत्तम पौडेल, पोखरा । गण्डकी प्रदेशमा को;रोनाका संक्रमित २ जना देखिएसंगै प्रदेशवासीमा भयको स्थिति सिर्जना भएको छ। पछिल्लो समय पोखरामा यस्ता घटना पनि दोहोरिए जसका कारण पोखराबासी थप चिन्तित समेत बनेका छन । कोरोनाका बिरामीका लागि गण्डकी प्रदेश सरकारले क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार त गर्यो तर, त्यसमा बिरामी राख्ने गरिएको छैन ।

अहिले ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने बिरामी आए भने पोखराको गण्डकी अस्पतालले बिरामीलाई भर्ना नलिने तथा उपचार नगर्ने गरेको पाइएको छ । केही बिरामी त चौरमै रात बिताउन बाध्य बनेका छन । बाग्लुङ्गका ६ बर्षीय बालक लाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा बस्न बाध्य बनाइएको छ । निमोनियाका बिरामी रहेका ती बालक होमनाथ कँडेल ताराखोला गाउँपालिका बाग्लुङ्गबाट उपचारका लागि पोखरा ल्याइएका हुन ।

तर उनलाई दुई दिनसम्म अस्पताल परिसरमा बस्न बाध्य पारिएको उनका परिवारका सदस्य बताउँछन । उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्ने क्रममा त्यहाँबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरेर ल्याइएको उनका बाबुले बताए । उनलाई सो अस्पतालको इमर्जेन्सीमा डाक्टरले चेक गर्न मानेनन् । निमोनियाका बिरामी भएका ती बालकलाई लिएर हाल उनका बाबु अस्पताल परिसरमा बसिरहेका छन् ।

त्यस्तै अर्को घटना छ पोखराको गणेशटोलको । पोखरा गणेशटोलका एक जना ब्यक्तिलाई उच्च ज्वरो आए पछि उनलाई अस्पताल लैजानु पर्ने भयो । तर उनलाई अस्पताल लैजानका लागि न एम्बुलेन्स आयो न त अस्पतालले उपचार नै गर्यो। २ दिनसम्म अन्यौलमै घरमै बिताएपछि उनको ज्वरो केही कम भएको उनका छिमेकी र परिवारका सदस्यले बताएका छन् ।

त्यस्तै पोखराका निजी अस्पतालले पनि ज्वरो आएका बिरामीहरु नजाँच्ने बिरामीहरुको गुनासो रहेको छ । ज्वरो आए पछि निजी अस्पतालले कोरोनाको शंका मानेर सरकारी अस्पतालमा रिफर गर्ने गरेका छन भने सरकारी अस्पतालले पनि उच्च ज्वरो आएकाहरुलाई सीधै भर्ना तथा चेकअप गर्न मान्दैनन । बिरामीका अनुसार पोखरामा सामान्य ज्वरो आउँदा पनि जाने अस्पताल र बोलाउने एम्बुलेन्स नभएको बिरामीका आफन्तहरु बताउँछन् ।

पीपीइको अभाव देखाउँदै एम्बुलेन्सहरुले विरामी बोक्ने गरेका छैनन् । यही पीपीइ उनीहरुका लागि राम्रो वहानाबाजी बन्दै आएको छ । एकातिर सरकारले तयार गरेको आइसोलेसन तथा क्वारेन्टाइन खाली अवस्थामा रहेका छन् भने अर्कातर्फ बिरामीहरु जटिल अव स्थामा गुज्रिरहेका छन । बिरामीका लागि न अस्पतालले भर्ना लिन्छ न एम्बुलेन्स बोलाएको बेलामा आउँछ न त डाक्टरहरु नै उपलब्ध रहेका छन् ।

प्रदेश सरकारले जनतालाई ढुक्क भएर बस्न आग्रह गरिरहेको छ तर जनता उपचारबाट बञ्चित भएर बस्नुपर्ने अवस्था आएको छ । सामान्य ज्वरो आउँदा पनि बिरामी कहाँ जाने भन्ने समस्याबाट गुज्रि रहेका छन । खोकी लाग्दैमा, ज्वरो आउँदैमा कोरोनाको संक्रमण नै हुन्छ भन्ने मानसिकताबाट डाक्टरहरु नै ग्रसित रहेको पोखराबासीको आरोप छ । त्यसैले सामान्य ज्वरो, खोकी तथा रुघा लागेका बिरामी हेर्न पनि पोखराका डाक्टरहरु हिच्किचाउने गरेको स्थानीयहरु बताउँछन ।

प्रदेश सरकारले एकातर्फ को;रोना डेडिकेटेड अस्पताल भनेर पश्चि माञ्चल क्षेत्रीय अस्पताललाई तोकेको र आवश्यक सामग्री बितरण गरि सकेको बताएको छ । गण्डकी प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले प्रदेशमा सम्पूर्ण तयारी भैसकेको बताउँदै आएता पनि बिरामीले उचित स्वास्थ्य सुविधा नपाउँदा गण्डकी प्रदेशवासीहरु समस्यामा परेका छन ।

प्रतिक्रिया दिनुहोस्