बर्दियाका एम्बुलेन्स चालकहरु भन्छन्, ‘जोखिम मोल्न तयार छौ, तर हाम्रो बारेमा पनि बोलिदिनुस्’

ज्योतिकुमार पन्थी, गुलरिया । विश्वभर महामारीको रुपमा फैलिएको को;रोना भाइरस नियन्त्रणका लागि संघीय सरकार देखि स्थानीय सरकार समेत सचेत छन्। तर स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको विषयलाई लिएर देशभर टिकाटिप्पणी भइरहदा बर्दिया जिल्लाका एम्बुलेन्स चालकहरुले भने दिन रात नभनेर विरामीहरुको ओसार प्रसार गरिरहेका छन ।

को;रोनाको संक्रमण फैलिने डरले सवै सचेत भएका बेला बर्दिया जिल्लाका एम्बुलेन्स चालकहरुले भने आफुलाई कसैले पनि सहयोग नगरेको उल्टो गुनासो गरेका छन । को;रोना भाइरसको महामारी चलिरहदा आफूहरुलाई पनि आफनो ज्यान र परिवारको मायाले सताउने गरेको तर आफूहरुको बिषयमा बोलिदिने कोही नभएको गुनासो बर्दियाको मोहम्मदपुर स्वास्थ्य चौकीको एम्बुलेन्स चालक खिदुलाल चौधरीको छ ।

‘रातविररात फोन आउँछ हामीहरु एम्बुलेन्स लिएर सेवामा पुगिहाल्नु पर्छ, कोरोनाको त्रास हामीलाई भए पनि हामीसंग पर्याप्त स्वास्थ्य सामग्री समेत छैन’ गुनासोको पोको फुकाउँदै चौधरीले भने ‘एम्बुलेन्स चलाएको १० बर्ष भयो अहिले सम्म कहिल्यै कुनै कुराको डर लगेको थिएन तर कोरोनाले त्रासबीच पनि हाम्रो बारेमा कसैले नबोलिदिदा दुःख लागेको छ ।’

बर्दिया जिल्लामा अहिले करिव दुई दर्जन एम्बुलेन्स रहेका छन । कतिपय एम्बुलेन्स चालकसंग यतिबेला मास्क, पञ्जा समेत देखिदैन पीपीई त उनिहरुका लागि ठूलो कुरा हो । अहिले पनि लकडाउनका समयमा उनीहरु जोखिम मोलेर विरामीको ओसार प्रसार गर्न बाध्य छन । ‘दिन रात हामीहरु विरामी लिएर बाकेको नेपालगञ्ज र कोहलपुर सम्म जान्छौ, कोरोनाको डर त्रास भए पनि हाम्रो बारेमा कसैले बोलि दिएनन्’ बिगत ५ बर्ष देखि निरन्तर एम्बुलेन्स चलाउँदै आएका एम्बुलेन्स चालक दिपुलाल थारुको गुनासो हो यो ।

को;रोना भाईरस सक्रमण फैलिने आशंकामा सरकारले लकडाउन गरे पछि अहिले सार्वजनिक यातायात साधनहरु समेत सञ्चालनमा आएका छैनन्। यस्तो समयमा एम्बुलेन्स चालकले दिनरात नभनेर डर त्रासका बाबजुद पनि जोखिम मोलेर भए पनि एम्बुलेन्स चालक हरु अहिले पनि सबैका लागि सेवा दिई रहेका छन ।

प्रतिक्रिया दिनुहोस्