लकडाउन कडा पार्ने, विदेशबाट आएका व्यक्तिको परीक्षणमा तीव्रता दिने !

काठमाडौं: नेपालमा थप तीन व्यक्तिमा को;रोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने तथा विदेशबाट फर्किएका र क्वारन्टीनमा रहेका व्यक्तिको परीक्षण गर्ने निर्णय गरेको छ। नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो।

मन्त्रिपरिषद्ले को;रोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गरेको र सङ्क्रमित व्यक्तिको सङ्ख्या थोरै भएकोमा सन्तुष्टि व्यक्त गरेको छ। को;रोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउन लाई अझ कडा बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए।

साथै मन्त्रिपरिषद्ले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय गरेको छ। अहिले भेटिएका अधिकांश सङ्क्रमित व्यक्ति ती तीन जिल्लाका हुन् । नेपाल टेलिभिजन मा प्रत्यक्ष प्रसारण मार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै डा. युवराज खतिवडाले स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने बताए।

प्रतिक्रिया दिनुहोस्