को’रोना कोषमा जम्मा गर्न असईदेखि माथिल्ला प्रहरी कर्मचारीको तलब काटिने

काठमाडौं : प्रहरी प्रधानकार्यालयले प्रहरी सहायक निरीक्षक (असई) देखि माथिल्ला तहका प्रहरी अधिकारीहरूको केही दिनको तलब कट्टा गरेर को;रोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको छ। वैशाख महिनाको तलबबाट पद अनुसार तीन देखि सात दिन सम्मको तलब कोषको खातामा जम्मा गर्न प्रहरी प्रधानकार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्र काटेको छ।

‘नेपाल प्रहरीमा कार्यरत अधिकृत स्तरसम्मका कर्मचारीहरूले प्राप्त गर्ने तलब बाट देहाय अनुसारको रकम जम्मा गर्नुपर्ने भएको हुँदा तहाँ कार्यालयहरूले राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोषको खातामा २०७७ वैशाख महिनाको तलबबाट रकम कट्टा गरी सो कोषमा जम्मा गर्न गराउन निर्देशनानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ, ‘साथै जम्मा गरिएको रकमको भौचरको प्रतिलिपि एकमुष्ट संकलन गरी यस महाशाखामा पठाउनु हुन अनुरोध गरिएको छ।’ प्रहरी सहायक निरीक्षक र नायव प्रहरी निरीक्षकले ३ दिनको तलब, प्रहरी निरीक्षक, प्रहरी नायब उपरिक्षक र प्रहरी उपरिक्षकले पाँचदिनको तलब, प्रहरी बरिष्ठ उपरिक्षक देखि महानिरिक्षक सम्मले सातदिनको तलब कोषमा जम्मा गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्