काठमाडौं : कान्ति लोकपथ अन्तर्गतको तीनपानेमा लस्करमा मिसिएर हिँड्दै थिए, २७ वर्षीय नीरज बम्जन। मध्यान्ह १२ बजेको चर्को घाम परवाह नगरी हिँड्नेमा नीरजसँगै उनका भाइ र दुई साला पनि थिए। उनीहरू ललितपुरको इमाडोल बाट बुधबार बिहान १० बजे चिउरा र चाउचाउ खाएर निस्किएका रहेछन्। पोकापन्तुरा बोकेका उनीहरू पसिनाले निथ्रुक्कै भएका थिए।
आसपासका कसैलाई वास्तै नगरी हिँडिरहेका उनीहरूको अगाडि हामीले मोटरसाइकल रोकेपछि झस्किए। तर्किन खोजेपछि हामीले उनीहरूलाई रोकेर प्रश्न सोध्यौँ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा विजय कार्कीले लेखेका छन्। उनीहरूले सर्लाही जान लागेको जवाफ दिए । नीरजले भने, ‘सर्लाही जान लागेको, के गर्नु हजुर, यहाँ बसेर रोगले भन्दा भोकले म’र्ने भयौँ । गाउँ गए त आटोपिठो खाएर भए पनि बाँचिन्छ नि।’
उनीहरू पाँच वर्ष देखि ललितपुरका विभिन्न क्षेत्रमा घर बनाउने काम गर्दै आएका रहेछन् । लकडाउन पछि ठेकेदारसँग पैसा माग्दा बाहिर निस्कन नसकेको र पैसा नउठेको बताएपछि उनीहरू गाउँ जाने निष्कर्षमा पुगेका रहेछन् । स्थानीय सरकारले दिने राहतको भर नभएको नीरजले बताए। उनले भने, ‘सरकारले दिने राहत पाइने–नपाइने निश्चित छैन । त्यसमा पनि ठूलाठालुकै हालिमुहाली होला।’
नीरजले श्रीमती र छोरालाई भने मंगलबार नै एम्बुलेन्सबाट सर्लाही पठाएको बताए। उनीहरू इमाडोलबाट तीनपाने आइपुग्दा विभिन्न स्थानमा प्रहरीले अवरोध ग¥यो । तर, उनीहरूले भोकले मर्नुभन्दा रोगले मर्न जाती भन्दै अनुनयविनय गरेर फुत्केको बताए । नीरज बम्जनका २१ वर्षीय भाइ अम्बरले भने, ‘१५ दिनसम्म त जेनतेन काठमाडौंमै बस्यौँ । भएको पैैसा सबै सकियो । भोकै म’र्नुभन्दा रोगले म’रे मरिन्छ भनेर हिँडेका हौँ ।
प्रहरीलाई पनि हामीले यस्तै जवाफ दिने गरेका छौँ।’ लकडाउन खुल्ने आसमा उनीहरू १५ दिनदेखि कोठामा भएको दाल, चामल, तरकारी खाएर बसे। तर, लकडाउन अझै बढ्ने थाहा पाए पछि पैदलयात्रा मै एक सय ८७ किलोमिटर पार गर्ने गरी सर्लाही तर्फ लागेका हुन्। उनीहरूले तीन दिनसम्ममा सर्लाही पुग्ने लक्ष्य लिएका छन्। नीरजले बाटोमा कतै किराना पसल खुलेको भेटे बिस्कुट, चाउचाउ किनेर लैजाने बताए । उनले भने, ‘हामीसँग चिउरा त छ, यसले नपुग्ला । त्यसैले बाटोमा बिस्कुट किन्दै खाएर जान्छौँ।’
प्रतिक्रिया दिनुहोस्