बाक्लाे कुहिराेले त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकियाे

काठमाण्डाै – त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण रोकिएको छ । बाक्लो कुहिरो लागेर भिजिविलिटी कम भए पछि आन्तरिक र अन्तराष्ट्रिय दुवै तर्फका उडान र अवतरण हुन नसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको भिजिविलिटी अहिले ५० मिटर मात्रै छ । उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाण्डौ सहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजि विलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । पहाडी क्षेत्रमा लागेको कुहिराे बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोख्रेलले बताउनु भयाे ।

यसैबिच देशका धेरै ठाउँमा बिहीबार र शुक्रबारदेखि वर्षा र हिमपात गराइरहेको मौसमको प्रणाली कमजोर हुँदै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बर्षा र हिमपात गराउने प्रणाली कमजोर हुँदै गएकाले शनिबार देखि मौसम खुल्दै जाने महाशाखाकी मौसमविद् विभूती पोख्रेलले जानकारी दिनुभयो । तर शनिबार बेलुकीपख काठमाण्डौ सहित मध्य र पश्चिमका थोरै ठाउँमा एकैछिन हल्का पानी पर्ने संभावना भने रहेको उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्र नगरमा ६० मिलि मिटर पानी परेको महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबार देखि नै काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्