परदेशीको पि’डा : न तलब, न काम न त स्वदेश फर्किने बाटो

काठमाण्डौ – झापाका टिकाराम खतिवडा यूएईको दुबईमा हर्टन क्याफे एण्ड बे’क शपमा काम गर्नु हुन्थ्यो । तर अहिले उहाँसँग काम छैन र भिसा पनि छैन । लकडाउन भए पछि उहाँले काम गर्ने रेस्टुरेन्ट त बन्द भयो, सँगै जागिर पनि खोसियो ।काम दिन नसकेपछि रेस्टुरेन्ट सञ्चालकले टिकारामको भिसा रद्द गरिदिए । उहाँ देश फर्कन पाउनुभएन ।

कोठामा बस्दा साथमा भएको पैसा सकिन थाल्यो । चाहेर पनि स्वदेश फर्कन पाइएको छैन ।यस्तै भएको छ, ज्ञान प्रसाद भट्राईलाई पनि । उहाँले काम गर्ने दुबईको रेस्टुरेन्ट पनि बन्द भएको छ । अरुबेला काममा खटिने ज्यान अहिले कोठाभित्र खाटमा पल्टिएको छ । १५ दिनदेखि कोठामै बस्नुपर्दा छटपटी मात्र भएको छैन, भएको जागिर पनि गुम्ने हो की भन्ने चिन्ता थपिएको छ ।

रेस्टुरेन्ट बन्द भएका कारण तलब पनि नपाउने भएपछि ज्ञानप्रसादलाई घर फर्कन मन छ। ‘काम नभएपछि तलब पनि नदिने भनेको छ,बरु घर फर्किन्थ्यौं’ ज्ञानप्रसाद भन्नुहुन्छ, ‘नेपाल सरकारले आउने वातावरण मिलाइदिनुपर्यो, हामी आफ्नै देश फर्कन चाहन्छौं ।’ यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् ।

अप्रिल ५ देखि यूएईको दुबई सहर दुई हप्ता लकडाउनमा छ । त्यसैले त्यहाँ काम गर्ने धेरै नेपालीहरुलाई अब के गर्ने भन्ने चिन्ता बढेको छ ।यूएईमा जस्तै साउदीमा पनि धेरै नेपाली श्रमिकले कोरोनाका कारण समस्या भोगिरहेका छन् । साउदीमा कतिपय ठाउँमा लकडाउन त कति ठाउँमा कर्फ्यु नै लगाइएको छ । कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युको समय लम्बिएको छ ।

यही कारण त्यहाँ धेरै कम्पनीहरु प्नि बन्द भएका छन् भने कतिपय कम्पनीले आफ्ना कामदार कटौती गर्न थालेको छन् । यसको असर त्यहाँ कार्यरत नेपाली श्रमिकलाई परेको छ । साउदीमा कार्यरत ओखलढुंगाका पासांग शेर्पालाई आफू काम गर्दै आएको कम्पनी बन्द भएपछि साहुले तलब नदिने पो हो कि भन्ने चिन्ता छ । ‘कम्पनीले घर पठाइदिन्छु भनेको छ, तर नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेकाले फर्कन पाइएको छैन’, उज्यालोको फेसबुक पेजमार्फत उहाँ आग्रह गर्नुहुन्छ, ‘नेपाल सरकारले यो विषयलाई गम्भीरताका साथ लिएर नेपाल आउने वातावरण बनायदिए राम्रो हुने थियो ।’

अहिले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अल खोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यु लागू भएको छ । स्वास्थ्य सम्बन्धी र स्थानीय अधिकारीले अनु मति दिएको अत्यावश्यक सेवा बाहेक अरु काममा बाहिर निस्कन पाईंदैन ।रियादमा एक होलसेल पसलमा काम गर्दै आएका जीवन लामिछाने पनि पसल बन्द भएपछि तलब नपाएको र कोठामै बस्नुपरेको बताउनुहुन्छ ।

‘साहुले त सुरुमै घर जाने भए जाउ भनिसकेको थियो, काम नभएको दिनको तलब पाईंदैन भनेको छ, अब कति दिन यसरी बस्नुपर्ने हो, बरु घर फर्किन पाए हुन्थ्यो ।’कुवेतमा पनि समस्या उस्तै छ । कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । कति कम्पनीले त कामदार कटौती गरिसकेका छन् ।तीमध्ये नेपाली श्रमिकहरु पनि छन् ।

त्यहाँ कार्यरत हरि मायालु भन्नुहुन्छ, ‘कोठामा काम बिहीन भएर बसेको १७ दिन भयो, खाना बस्न दिएको छैन। लकडाउन खुलेपछि घर फर्किनु भनेको छ ।’यस्तै समस्या छ सुवास लिम्बुको पनि । कम्पनी बन्द भएपछि उहाँ १८ दिनदेखि साथीको कोठामा बस्दै आउनुभएको छ । ‘म कम्पनीले दिएको कोठामा बस्थें, काम बन्द भएपछि त्यहाँ बस्न पनि दिएको छैन, अब कति दिनसम्म यसरी बस्ने, पैसा पनि सकिसक्यो’, सुवासलाई आफ्नो समस्या नेपाल सरकारले सुनिदियोस् भन्ने लाग्छ ।

कुवेतमा रेस्टुरेन्ट देखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातिको समयमा अनिश्चित कालिन कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिबाना हुन्छ । कतारबाट झापाका चन्द्र पौडेल आफूसहित १६ जना घर फर्कन तयार भए पनि नेपालले लकडाउन गर्दा आउन नपाएको बताउनु हुन्छ ।

भिसाको म्याद सकिएपछि आफूहरु खाली बसेको र कम्पनीले दिएको पैसा पनि सकिएपछि समस्यामा परेको उहाँले बताउनु भयो। आफूलाई बिरामी भएकाले नेपाल फर्किन लाग्दा पनि नपाएको गुनासो छ कातरमै रहेका सन्तोष लोहारको । बिरामी परेपछि कम्पनी बाटै भिसा रद्द गराएर घर फर्किनै लाग्दा लकडाउन भएपछि नेपाल फर्कन नपाएको र त्यहाँको डाक्टरले नेपाल जाउ भनिरहेको उहाँको भनाइ छ ।

कतारमा लकडाउन नभए पनि नेपाल फर्किन नपाउँदा धेरै नेपाली कतारमा बिचल्लीमा परेका छन् । सर्लाहीका दिलिप यादव आफूले काम गर्ने कम्पनी बन्द भएपछि दोहोरो चिन्तामा पर्नुभएको छ। क्वालालम्पुरमा एउटा कम्पनीमा काम गर्दै आएका दिलिपले कम्पनी बाट दुई महिनादेखिको तलब समेत पाउनु भएको छैन । त्यसैमाथि कम्पनीले बन्दको बेलाको तलब नपाइने भनेपछि के खाने के लाउने भन्ने समस्याले पिरोलेको छ ।

‘साथमा भएको पैसा पनि सकिन लागि सक्यो, यस्तै हो भने कति दिन टिक्न सकिएला र ?’, उहाँ भन्नुहुन्छ, ‘दुई महिनाको तलब मात्रै पाए पनि लकडाउन खुल्ने बित्तिकै घर फर्किने थिएँ ।’यस्तै दाङका समर्पण मगर आफूसँगै सुपर मार्केटमा काम गर्ने दुईसय जना नेपाली श्रमिक समस्यामा परेको बताउनुहुन्छ ।‘सुपरमार्केट भएकोले हाम्रो काम चलिरहेको छ, तर दैनिक हजारौं मानिसँग बोल्नु पर्छ, नजिक जानुपर्छ, रोग सर्ने डर धेरै छ’, उहाँ भन्नु हुन्छ, ‘काममा जाउँ भने रोग सर्ने डर, नजाउँ भने जागिर छुट्ने डर के गर्ने होला अन्यौलमा छौँ हामीहरु ।’

मलेसिया अप्रिल १४ सम्म पुरै लकडाउनमा छ । अझै लक डाउन लम्बिन सक्ने सम्भावना छ । त्यहाँ रहेका लाखौं नेपाली श्रमिकलाई आफ्नो स्वास्थ्यको चि’न्तासँगै जागिर पनि गुम्ने हो कि भन्ने डर बढेको छ । हेल्प मधेशी नेपाल शाखा मलेसियाका अध्यक्ष दिपक कुमार मण्डल मलेसियामा लाखौं नेपाली त्रासमा रहेको बताउनुहुन्छ । ‘कति कम्पनीले तलब पनि काटिदिएका छन् ।

कति कम्पनीले नेपाल पठाइदिन्छु भनिरहे पनि नेपाल आउन सक्ने अवस्था छैन’ उहाँ भन्नुहुन्छ, ‘यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरुले के गर्ने, नेपाल सरकारले बुझिदिनुपर्यो ।’खडी देश मात्र होइन विश्वभरी नै नेपाली श्रमिकहरु अहिले चिन्तामा छन्। एकातर्फ कोरोना सङ्क्रमणको डर, अर्कोतर्फ जागिर गुम्छ कि भन्ने चिन्ता । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा रहेका चितवनका योगेन्द्र तामाङलाई पनि यही चिन्ताले सताइरहन्छ ।

मकाउमा लकडाउन नभए पनि कोरोना भाइरसले त्यहाँको अर्थतन्त्रमा नराम्ररी प्रभाव पारेको भन्दै आफूहरुलाई कम्पनीले बेतलबी बिदामा बस्न आग्रह गरेको उहाँको भनाइ छ ।पछिसम्म यस्तै अवस्था रहेमा आफूहरुको जागिर गुम्ने खतरा भएको उहाँ बताउनु हुन्छ। ‘केही समयसम्म यस्तै भैरह्यो भने यहाँधेरै विदेशी श्रमिकहरुको जागिर गुम्ने खतरा छ’ उहाँ भन्नुहुन्छ ‘हामीहरु डराएर यहाँ बसिरहेका छौं, नेपाल सरकारले कुटनैतिक पहल गरी ढुक्क हुने वातावरण बनाउनु पर्यो ।’ उज्यालो अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्