सीमामा आवतजावत रोक्न सुरक्षाकर्मीसँगै खटिए स्थानीय

झापा, ३० चैत । खुल्ला सीमाको फाइदा उठाउँदै लकडाउनमा मानिसहरु आवतजावत गर्ने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएको झापाको दक्षिणी क्षेत्रका बासिन्दा प्रहरीसँगसँगै सीमामा खटिन थालेका छन। खुल्ला सीमाका कारण सीमा वर्ती क्षेत्रमा बस्ने नागरिकहरु चोरबाटो र रातको समयमा ओहोरदोहोर गर्न थालेपछि स्थानीय सुरक्षा समिति नै बनाएर प्रहरीसँगै उनीहरु गस्तीमा निस्कन थालेका हुन् ।

झापामा दक्षिणपश्चिम गौरीगञ्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङ सम्म १ सय ४४ किलोमिटर खुला सीमा छ । सीमाका अधिकांश भारतीयले नेपालमा खेती र रोजगारी गर्दै आएका छन् । लकडाउनको समयमा पनि सीमामा खेती गर्न र नाता सम्बन्धका कारण नेपाल–भारत ओहोरदोहोर गर्दै आएका छन् । झापासँग सीमा जोडिएका भारतीय राज्य पश्चिम बंगाल र बिहारमा समेत को;रोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय त्रसित बनेका हुन् ।

सीमामा सुरक्षाकर्मीको उपस्थिति न्यून रहँदा त्यसको जोखिम झापामा समेत पर्ने देखिएपछि स्थानीय सरकारले सुरक्षा समिति नै बनाएर स्थानीयलाई खटाएको हो । ‘समितिमा हामीले दुई समूह बनाएका छौं । यसले दुई सिफ्ट गरेर २४ घण्टा नै गस्ती गर्छ’, कचन कवल–३ का अध्यक्ष तथा सीमा सुरक्षा समिति संयोजक विजयकुमार राजवंशीले भने, ‘प्रहरीसँग सहकार्य गरेर काम गर्दा सीमाबाट कोही पनि भारतीय आउन पाएका छैनन् ।’

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खुला सीमाबाट भारतीय छिरेको दुखेसोपछि सुरक्षा निकायले सीमामा सुरक्षाकर्मीको तैनाथी समेत बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाका सबै खुला सीमामा २ सय २० सुरक्षाकर्मी खटाइएको छ। नेपाल प्रहरीका एक सय र सशस्त्र प्रहरीका १२० जना सुरक्षाकर्मी खटाइएको छ । सीमामा खटाइएका प्रहरी जहाँबाट भारतीय प्रवेश गर्ने बाटो छ त्यहीँ बसेका छन् ।

त्यसका लागि उनीहरुलाई त्रिपाल टाँगेर बस्ने ठाउँ बनाएका छन् । अस्थायी पोष्ट बनाउन र त्यहाँ गस्ती गर्न २४ घण्टै सुरक्षाकर्मीलाई स्थानीयले सहयोग गरेका छन् । जसका कारण यस्तो विषम परिस्थितिमा काम गर्न सहज भएको प्रहरी बताउछन् । ‘बोर्डर नजिकै दुवैतिर बस्ती छ, खेतीपाती गर्नदेखि आफन्तकोमा आउजाऊ गर्ने क्रम थियो’ पथरीया प्रहरी चौकीका ईन्चार्ज असई भक्तबहादुर विष्टले भने, ‘स्थानीय सहितको समिति बनेपछि मानिसहरु चिन्न, क्वारेन्टाइनमा राख्न र यताउता गर्न नदिन सजिलो भयो ।’

हालसम्म झापामा १६ वटा स्थानीयको समिति बनाएर सीमामा खटिरहेका छन् । यसरी खुल्ला सीमामा कडाइ गर्न स्थानीयको संलग्नतामा सीमा सुरक्षा समिति गठन गरिँदा लकडाउनलाई थप प्रभावकारी बनाउन मद्धत मिलेको सरोकार वालाको ठम्याई छ । ‘यहाँ त हिजो अस्तिसम्म नेपाली दही बेच्न भारत जान्थे । भारतीय नेपाल आउँथे’, स्थानीय नवराज भट्टराई भन्छन् ‘अहिले केही प्रभावकारी भएको छ। तर यतिले मात्र पुग्दैन । अझै पनि भारतीयहरु नेपालतर्फ आफन्तकहाँ आइरहेका छन् । सीमामा मानव साङ्लो बनाएर बस्नुपर्ने अवस्था आउनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्