घर–जग्गा खाली गर्न प्रेरणा शाहलाई ३५ दिनकाे म्याद

काठमाडौं, ४ माघ। पूर्वअधिराज कुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनी स्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ । ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शुक्रबार सूचना जारी गरेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

छाउनीको जग्गा दाइजोमा पाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दिएको रिटमा सुरुमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणा (हाल प्रधान्यायाधीश) को संयुक्त विशेष इजलासले २०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्णय दिएको थियो। फैसला त्रुटीपूर्ण रहेको भन्दै नेपाल ट्रस्टको कार्यालयले दिएको पुनरावलोकनमा २०७३ पुस २१ गते अघिल्लो फैसला उल्ट्याउँदै तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपक कुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घर–जग्गा दाइजो नठहरिने निर्णय सुनाएको थियो।

पूर्ण इजलासको फैसला कार्यान्वयनका लागि ट्रष्टले पत्र काटेपछि ‘गैरकानुनी’ भन्दै प्रेरणाले फेरि अर्को रिट दिइन्। पछिल्लो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले अघिल्लो फैसलाको मिसिल झिकाउने आदेश गरेको छ । प्रेरणा को यो रिट संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा ट्रष्टले घर–जग्गा खाली गराउन सूचना जारी गरेको छ।

ट्रष्टले काठमाडौं महानगरपालिका –१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एकआना एक पैसामा रहेको कम्पाउण्ड वालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाण पुर्जा नेपाल ट्रष्टको कार्यालयको नाममा कायम भइसकेको जनाएको छ। ट्रस्टले यस अघि पनि पटक पटक सूचना जारि गर्दा समेत अटेर गरेको भन्दै पुन: ३५ दिने सूचना निकालेको जनाएको छ । ३५ दिन भित्र घर जग्गा खाली नगरे ट्रस्टले कानुन बमोजिम खाली गराईने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्